भर्खरै

माथिल्लो दोर्दी ‘ए’ ले जेठ अन्तिमबाट विद्युत उत्पादन गर्ने

  • प्रकाशित मिति : बुध, बैशाख १५, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख  । पहाडी जिल्ला लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए आयोजना अन्तिम चरणमा पुगेको छ । 
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन यस आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । 
 
आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीका अनुसार आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेकोले जेठको अन्तिम सातासम्म निर्माणकार्य सम्पन्न गरी विद्युत उत्पादन सुरु हुने बताए । 
प्रवद्र्धक वस्तीले भने यही हप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको र आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ । 
आयोजनाको निर्माण २०७१ सालबाट थालिएको थियो । २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी, बाढी पहिरो र त्यसपश्चात कोभिडका कारण आयोजनाको अवधि लम्बिदै गएको छ । 
 आयोजनाले यसअघि गत चैत महिनासम्म निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले आयोजनामा प्रभाव पारेकाले निर्माण कार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत उत्पादनमा ढिलाइ हुनपुगेको प्रवद्र्धक वस्तीको भनाइ छ ।
आयोजना रु तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य लिएपनि आयोजनाको निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड खर्च हुने अनुमान छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने छ ।
 
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रु आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजनाले जनाएको छ । आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।

प्रतिक्रिया