भर्खरै

प्रधिकरणले भारतीय पावर एक्सचेञ्‍ज बजारबाट विद्युत खरिद गर्दै, अब ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट दुईथरि बिजुली आउने

  • प्रकाशित मिति : शनि, बैशाख १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ १८ बैशाख । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजार (एक्सचेन्ज बजार) बाट  प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्ने भएको छ । यो सँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको छ ।
 
प्राधिकरणले आज शनिबार राती १२ बजे देखि २ सय देखि २५० मेगावाटसम्म ढल्केबर-मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइन मार्फत विजुली आयात गर्न लागेको हो । पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले  बताए ।  
 
प्रतियुनिट तीन रुपैयाँ ८१ पैसा भारु (६.०९६ नेपाली रुपौयाँ) मा बिजुली लिने सहमति भएको हो । हाल ढल्केबर-मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत प्राधिकरणले प्रतियुनिट ४.१८ भारु (नेरु ६.६८८) गर्दै आएको छ ।  प्राधिकरणले भारतीय पावर एक्सचेञ्जबाट यसरी विजुली आयात गर्दा एक युनिट बिजुलीमा करिब ६० पैसा फाइदा हुनेछ । प्राधिकरणले आयात गर्ने बिजुलीको परिमाण अनुसार प्राधिकरणको करिव ३० लाख रुपैयाँ बचत हुने भएको छ ।
यो सँगै ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनबाट ‘पीपीएको र एक्सचेञ्ज गरि दुईथरि बिजुली आउने भएको हो ।
 
प्राधिकरणका अनुसार आज राति १२ बजेदेखि १ बजेसम्म २५० मेगावाट, १ बजेदेखि साँझ ६ बजेसम्म २०० मेगावाट र साँझ ६ बजेदेखि राति १ बजेसम्म २५० मेगावाट विद्युत् खरिद गरिनेछ प्राधिकरणले जनाएको छ । समग्रमा भारतीय एक्सचेन्ज बजारबाट खरिद गरिन लागेको विद्युतको मूल्य प्रतियुनिट भारु ३.८१ नै पर्नेछ । औसत मार्केट मूल्य प्रतियुनिट भारु ३.२९ रहेको छ । यसमा प्रसारण तथा अन्य शुल्क जोड्दा भारु ४९ पैसा थपिन्छ । 
प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।
 
नेपालले भारतीय एक्सचेन्ज बजारबाट विद्युत खरिदका सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभिभिएनले गर्नेछ । सोहीअनुरुप एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभिभिएनले पेश गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको छ ।  भारतको एक्सचेञ्ज बजारबाट आउने बिजुलीको भाउ शेयर बजारमा शेयरको भाउ तलमाथि भएजस्तै हरेक १५ मिनेटमा परिवर्तन हुन्छ ।
 
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यले बताए ।
 
नेपालमा सुख्खायाममा खपत भन्दा उत्पादन कम भएर विद्युत आयात गर्नुपर्ने प्राधिकरणसामु बाध्यताखडा भएतापनि बर्खायममा भने नेपालको खपत भन्दा उत्पादन धेरै हुनेहुदाँ प्राधिकरणले बर्खायममा  विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाउदै आएको छ ।

प्रतिक्रिया