आगलागी प्रभावित ३७ परिवार बिचल्लीमा

  • प्रकाशित मिति : सोम, बैशाख २०, २०७८
  • - रासस
title

रोल्पा,२० वैशाख । यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका  त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार  बिचल्लीमा परेका छन ।  आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा  थपिएको छ ।  
घरसँगै लत्ताकपडा, अन्नपात र  नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य  राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल  बन्दै गएको छ ।नेपाल रेडक्रस सोेसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या  निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
 
नेकपा (एमाले)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल रोल्पाले आगलागी पीडित परिवारका  १७० व्यक्तिका लागि रु दुई लाख बराबरको लत्ताकपडा वितरण गरेको छ  । एमाले लुम्बिनी  प्रदेश  समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका  अनुसार आगलागी पीडितका मागका आधारमा  युवा सङ्घले उक्त  राहत हस्तान्तरण गरेको हो । 
विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताए । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई  सुरक्षित  बासका लागि पहल भइरहेको उनको भनाइ छ । 
बस्ती नजीकैबाट सल्किएको आगलागीबाट  त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा  रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर  नष्ट भएका थिए ।  आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट  भएका थिए । लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण   गर्न  नेपाली सेना,  नेपाल  प्रहरी  तथा स्थानीयवासीले  प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात् शुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।
आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण  जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा  छन् । रोल्पामा ४५  प्रतिशत सल्लाको र २२ प्रतिशत  मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ  । प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि  यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल  कँडेलले बताए । 

प्रतिक्रिया