भर्खरै

बालुवामा छैन सुन, बोटेहरू निराश

  • प्रकाशित मिति : बुध, बैशाख २९, २०७८
  • - Admin
title

तनहुँ २९ वैशाख । बालुवा सुन छान्ने पुख्र्यौली पेसाबाट तनहुँका बोटे समुदायलाई जीवन चलाउन कठिन हुन थालेको छ । बालुवामा सुन पाइन छाडेकाले व्यास नगरपालिका–१०, बोटे गाउँका बोटेहरू जीविकोपार्जनको चिन्तामा छन् ।
नदीमा बालुवाको मात्रा कम भएकाले सुन खोज्न कठिन भएको बोटेहरूले बताएका छन् । “पहिलापहिला बालुवामा सुन धेरै पाइन्थ्यो, हिजोआज त्यति पाइँदैन । त्यसैले पेसाबाटै विस्थापित हुने अवस्था आएको छ,” कर्णबहादुर बोटेले भन्नुभयो ।
 
बोटे समाजका अध्यक्ष निरज माझीले नदीमा डोजर लगाएर बालुवा झिक्दा बालुवामा सुन पाउन मुस्किल भएको बताउनुभयो । “नदी किनारमा माटो देखिने अवस्थासम्म डोजर लगाएर बालुवा लैजान्छन् । ढुङ्गा पनि कम भएकाले बालुवा अड्किन पाउँदैन अनि सुन कसरी पाइन्छ रु” अध्यक्ष माझीले प्रश्न गर्नुभयो ।
 
परिवारसहित सुन खोज्न गएका जितबहादुर बोटे एक लाल सुन पनि नपाएपछि परिवार र साथीहरू घर फर्किन बाध्य भएको बताउनुभयो । नदी बढे पनि सुन खानीमा पहिरो नगएकाले बालुवामा यस वर्ष सुन नपाइएको बोटेहरूको अनुमान छ ।
बालुवामा सुन चाल्ने डँुड, चिनौटो पार्टी, फलामे कुटो लिएर बोटेहरू नदी किनारमा जाने गर्दछन् । ५२ वर्षीय मेषबहादुर बोटे श्रीमती सानीमायालाई लिएर बालुवामा सुन चाल्न गएको दुई जनाले छ महिनामा आधा तोला सुन मात्रै पाएको जानकारी दिनुभयो । मस्र्याङ्दी, त्रिशूली, बूढीगण्डकी, कालीगण्डकीमा सुन खोज्न जाने उहाँले बताउनुभयो ।
त्रिपाल, ओढ्ने ओछ्याउने र भाँडाकुँडा बोकेर नदी किनार आसपासमा बसेर बोटेहरू सुन खोज्ने गर्छन् । पानी धेरै परेर बाढी ठूलो आएका बेला बालुवामा धेरै सुन पाइने मङ्गली बोटेले बताउनुभयो । “बाढीपहिरो आएर सुन खानीमा धेरै ठक्कर दिँदा बालुवामा सुनको मात्र धेरै हुन्छ,” मङ्गलीले भन्नुभयो ।
सन्तबहादुर बोटे कर्णाली नदीमा झन् धेरै सुन पाइने बताउनुहुन्छ । आवतजावतका लागि झन्झटिलो भएकाले कर्णालीमा जान कठिन भएको उहाँ बताउनुहुन्छ ।
३२ घर बोटे समुदाय रहेको र केटाकेटी र बूढाबूढीलाई घरमा छोडेर पाखुरीमा बल भएकाहरू सुन खोज्न जाने गरेको हर्कबहादुर बोटेले जानकारी दिनुभयो । व्यास नगरपालिका–५, पाटन र व्यास नपा–७, पाथ्राका बोटेहरू पनि सुन खोज्न जाने बोटे समाजले बताएको छ ।
वैशाखसम्म सुन खोज्ने र एक तोलादेखि डेढ तोलासम्म सुन वार्षिक रूपमा ल्याउने गरेको उनीहरूको भनाइ छ । सुनचाँदी पसलेकहाँबाट ऋण लिई दशैँ मान्ने र सुन खोजेर ऋण तिर्ने बोटेहरूको प्रचलन भएको समाजका अध्यक्ष माझी बताउनुुहुन्छ ।
बालुवा चालेर सुन निकाल्ने बोटेहरूको पुख्र्यौली पेसा भएको र हाल सुन कम पाइने, सुन व्यवसायीले राम्रो मूल्य नदिनेजस्ता कारणले पेसा सङ्कटमा पर्दै गएको बोटे गाउँ नजिकै दुम्सी निवासी शिक्षक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । शैक्षिक स्तर कमजोर भएकाले अधिकांश बोटे आर्थिक रूपमा विपन्न रहेको जानकारी दिनुभयो ।
 
उनीहरूको सुन खोज्ने प्रविधिलाई पर्यटनसँग जोड्न सक्ने हो भने पर्यटनको नयाँ गन्तव्य हुने र बोटेहरूको जीवनस्तरमा परिवर्तन आउने आचार्य बताउनुहुन्छ । उक्त वडाका वडाध्यक्ष तुलसीराम सापकोटा बोटे तथा माझी जातिले प्रयोग गर्ने डुङ्गाको मूर्ति बनाएर पर्यटकलाई थप आकर्षित पार्ने योजना रहेको बताउनुभयो । सुन खोजेको पैसाले ऋण तिरेर छ महिनासम्म खाने र बाँकी छ महिना खेती किसानी गर्नेसमेत बोटेहरूको प्रचलन छ । पुख्र्यौली पेसाबाट हात धुनुपर्ने अवस्था आएकाले सुन खोज्ने आधुनिक प्रविधिको ज्ञान दिने, जथाभावी डोजर लगाउन दिन नहुने शिक्षक आचार्य बताउनुहुन्छ ।
अनलाइनगोरखापत्रबाट

प्रतिक्रिया