भर्खरै

निषेधाज्ञामा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम धमाधम

  • प्रकाशित मिति : बिही, बैशाख ३०, २०७८
  • - रासस
title

दमौली, ३० वैशाख । कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् । निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ । गत वर्षको निषेधाज्ञामा पनि आयोजनाको काम रोकिएको थिएन । 
 
आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । प्याकेज १, प्याकेज २ र प्याकेज ३ का कामहरु धमाधम सञ्चालन भइरहेको घिमिरेले बताउनुभयो । “निषेधाज्ञामा काम रोकिएको छैन, सबै सुरक्षा अपनाएर कामलाई गति दिएका छौ,” उनले भने । 
 
केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गर्न तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि। नेपाल जेभीसँग सम्झौता गरेको थियो ।
 
घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए । 
 
प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी तीन सय ७० परिचालित छन् । प्याकेज २ को कामका लागि दुई सय ५० श्रमिक क्याम्पभित्रै छन् । कोरोना जोखिम भएका कारण वरपरका केही सीमित श्रमिकमात्रै काममा परिचालन गरिएको छ । 
 
“बाहिरका श्रमिकलाई पनि भित्रै राखेर काम गराउने गरी तयारी गरिएको छ, आवतजावत हुँदा जोखिम हुने भएकाले सबैलाई भित्रै राखेर कामलाई गति दिन्छौ,” घिमिरेले भने । यो प्याकेजका लागि ४५ जना चिनियाँ पनि परिचालित छन् । प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेज अन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।
 
प्याकेज ३ अन्तर्गतको प्रशारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रशारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । २३ वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र दश ठाउँमा काम शुरु भइरहेको छ । 

प्रतिक्रिया