सुनकोशीको बाढीले बगायो निर्माणाधीन पुल, हेर्नुहोस् तस्विरमा

  • प्रकाशित मिति : बिही, जेठ १३, २०७८
  • - रासस
title

ओखलढुंगा, १३ जेठ । सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ ।  चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने  पुल बगेको हो । 
 
करीब रु  २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो ।
 
 
 वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्ने गरी काम अघि बढाइए पनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए । उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो । उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउछन् । ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिनसम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले भने, ‘गुणस्तरीय काम गर्दागर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याब भत्कियो । निकै ठूलो क्षति भयो ।’ माझीका अनुसार करी बरु ६ करोड बराबरको क्षति भएको छ । 
 
 
निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुली फिक्कल गाउँपालिका २ का वडाध्यक्ष शंकर भण्डारीले बताए । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरुसँग कुनै समन्वय नगरेको बताए ।
सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताउनुभयो  । ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुन सक्ने उनको भनाइ छ । 

प्रतिक्रिया