गण्डकी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक, हेर्नुहोस् कुन क्षेत्रलाई कसरी समेटियो

  • प्रकाशित मिति : शुक्र, असार ११, २०७८
  • - विद्युत संसार
title

गोरखा ११ असार । गोरखाको गण्डकी गाउँपालिकाको आठौं गाउँ सभा बैठकले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
हिजो विहिवार गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी सहित सबै वडाको वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
गाउँपालिकाले बजेट भने नीति तथा कार्यक्रममा छ्लफल गरेपछिमात्रै ल्याउने अध्यक्ष होम बहादुर रानाले बताए ।
 
गाउँपालिकाको नीति तथा कार्यक्रमले कुन क्षेत्रलाई कसरी समेटेको छ तल प्रस्तुत गरिएको छ ।

स्वास्थ्य क्षेत्र
कोरोनाको रोकथामका लागि संचालनमा रहेको आइसोलेसन केन्द्र र अस्थायी अस्पताललाई व्यवस्थित बनाउदै कोरोना भाइरस नियन्त्रण तथा रोगथामलाई नीति तथा कार्यक्रमले पहिलो प्राथमिकता राखेको छ । 
गाउँपालिकाको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र अन्तर्गत बालमृत्युदर तथा मातृमृत्युदर घटाउने र घरमा हुने प्रसुती शून्य बनाउने अभियानलाई निरन्तरता दिइने भएको छ ।
 
निर्माण क्षेत्र
गाउँपालिकाको नीति तथा कार्यक्रममा एक वडा एक मुख्य सडक निर्माण तथा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
संघीय सरकारको साझेदारीमा आग्रीडाडा दलभञ्याङ रानिश्वारा कौदी पौवा कुवापानी वतासेभञ्याङ सडकको कालोपत्रेलाई निरन्तरता दिइने छ ।
बेरोजगार श्रमिकलाई काममा समेट्न ५ लाख सम्मका आयोजनाहरुमा हेवि उपकरणहरु प्रयोगमा रोक लगाउने साथै पुर्वाधार विकास अन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यलय भवन निर्माण गर्ने नीति लिएको छ ।
सम्वाभित बिपदलाई मध्यनजर गरि ठुला प्रकृतिक खानेपानी वा अन्य योजनाहरुको प्रमुख संरचनाहरुको विमा गर्ने कार्यको थालनी गरिने भएको छ ।
त्यस्तै गाउँपालिका भित्र नै रेडियो संचालनको लागि निजि क्षेत्रलाई आवश्यक सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 
 
कृषि तथा पशुपक्षी
गाउँपालिकाको नीति तथा कार्यक्रमले कृषि तथा पशुपक्षी विकास अन्तर्गत गाउँपालिका भित्र रहेका रैथाने बाली तथा पशुपक्षीहरु जस्तै घैया धान, मकै, कोदो, खरी बाख्रा आदिको उत्पादन संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ ।
दूध, अन्डा, मासुमा आत्मनिर्भर हुन पालिकाले यस्ता उत्पादन गर्ने कृषक, कृषि फर्म सहकारी, समुहलाई दुध चिस्यान स्थापनाको लागि सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 
श्रम तथा रोजगार
गाउँपालिकाको नीति तथा कार्यक्रमले श्रम तथा रोजगार प्रवर्द्धन अन्तर्गत गाउँपालिका भित्र रहेका बेरोजगार व्यक्तीहरुको तथ्यांक संकलन तथा विश्लेषण गर्दै रोजगार बैकंको स्थापना गरिने नीति लिएको छ । गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम संचालन गरि नयाँ लघु उद्यमीहरु थप्ने नीति लिएको छ ।
स्थानिय स्तरको ज्ञान, सीप, मूल्य, मान्यता, संस्कृति र प्रविधिका संरक्षण, प्रवद्धन र स्तरीकरण गर्ने स्थानिय पाठ्यक्रम निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 
सामाजिक सुरक्षा
सामाजिक सुरक्षा तथा पंजिकरण अन्तर्गत ६० बर्ष माथिका, जिवनमा एक पटक पनि विवाह नगरेका, गाउँपालिका भित्रका लैगिक यौनिक अल्पसंख्यक र राज्यको सामाजिक सुरक्षा मापदण्ड भित्र नपरेका एकल पुरुषहरुलाई मासिक १५ सय का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिने गरि गाउँपालिकाको नीति तथा कार्यक्रमलमा समेटिएको छ । सुशासन तथा संस्थागत विकास अन्तर्गत स्वीकृत दरबन्दी संरचना र नगर प्रहरी ऐन बमोजिम नगर प्रहरी व्यवस्थापन गरिने नीति लिएको छ ।
 
पर्यटन
पर्यटन विकास अन्तर्गत प्याराग्लाइडिंगको सफल परिक्षण उडान भएका स्थानहरु भैरवी र थामडाडामा व्यवसायीक उडानका लागि आवश्यक व्यवस्था गरिने  नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया