भर्खरै

विद्युत् विस्तारको माग राख्दै अनशन बसे वडा सदस्य, नगरपालिकाका प्रमुख भन्छन्ः अनशन बस्नु आवश्यक छैन

  • प्रकाशित मिति : मंगल, असार १५, २०७८
  • - रासस
title

बैतडी १५ असार । गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन शुरु गरेका छन् । गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडा सदस्य भीमदत्त भट्टले आमरण अनशन सुरु गरेका हुन । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसिरहेका छन् । उनिहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनशन शुरु गरेका हुन ।
 
गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताए । उनले भने, “मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभावित वडा हुन्, चितुवाको आक्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनशनमा बसेका हौँ ।”
 
मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उहाँहरुको माग छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उहाँहरुको माग छ । माग पूरा नहुञ्जेलसम्म अनशन जारी रहने चेतावनी समेत दिइएको छ ।
 
यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए । मेलौलीमा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उनले बताए । उनले भने, “विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनशन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौँ ।” यसअघि आइतबार मात्रै मेलौली–८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 

प्रतिक्रिया