भर्खरै

महिनौदेखि विद्युत् सेवा नियमित नहुदा जनजीवन प्रभावित, सरोकारवाला पक्ष मौन

  • प्रकाशित मिति : बिही, असार १७, २०७८
  • - रासस
title

यहाँ ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । बिनासूचना पटकपटक विद्युत् अवरोध हुँदा सेवाग्राही आक्रोशित समेत भएका छन् । विद्युत् अवरुद्ध भएपछि सदरमुकाम तथा स्थानीय तहका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक पसल, कलकारखाना रेडियो स्टेशनलगायत प्रत्यक्ष मारमा परेका छन् ।
 
झ्याप्प आउने फेरि तत्कालै विद्युत् अवरोध भइदिने समस्याले विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको सेवाग्राहीको भनाइ छ । दिनमा पटक–पटक विद्युत् अवरोध हुने भए पनि सेवाग्राही समस्याको विषयमा अनविज्ञ रहेका छन् । जिल्लाबाट दुई जलविद्युत् आयोजना सञ्चालनमा रहेका भए पनि त्यसको लाभ यहाँका बासिन्दाले लिन नपाएको सागरकुमार राईले बताए । राईले भने, “महिनौदेखि विद्युतमा समस्या आइरहेको छ, विद्युत् कतिबेला आउँछ कतिबेला जान्छ पत्तो छैन, लामो समयदेखि विद्युतमा यस्तो समस्या हुँदा पनि सरोकारवाला पक्ष मौन छन्, तत्काल यस समस्याको समाधानमा ध्यान जाओस् ।”
 
सेवा अनिमित हुनुमा विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रको चरम लापरवाही रहेको गणेशथान दुग्ध उद्योगका सञ्चालक ज्ञानबहादुर कार्कीले बताए । “सेवा अवरोध हुनुमा प्राधिकरणको लापरवाही देख्छु, लोडसेडिङ हो भने तालिका दिनुप¥यो, होइन भने यसरी जनतालाई दुःख दिन मिल्छ ?”, कार्कीले भने, “हामीले विद्युत् सित्तैमा बालेको त होइन नि, महसुल तिरेका छौँ, तर सेवा देख्दा अचम्म लाग्छ, विद्युत् अवरोध हुँदा व्यावसायमा नै समस्या छ, विद्युत्का कारण सेवाग्राही मारमा छन् खोइ यसतर्फ कार्यालयको ध्यान गएको ? महिनौँदेखि यस्तो समस्या छ अनि ।”
 
विद्युतमा दैनिकजसो समस्या आएपछि स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विद्युत् प्राधिकरणको सेवाप्रति प्रश्न उठाएका छन् । सदरमुकाममा समेत स्थानीयवासीले विद्युत् सेवाको राम्रो उपभोग गर्न पाएका छैनन् । ग्रामीण भेगमा विस्तार भएको विद्युत् सेवाको अवस्था झन् नाजुक रहेको टेम्केमैयुङ गाउँपालिका–५ का बासिन्दा एकराज विष्टले बताउनुभयो । हप्तामा एक दिन पनि विद्युत्को सेवा लिन नपाएको उनको गुनासो छ । विष्टले भने, “विद्युतको तार विस्तार भएको छ, नियमितरूपमा महसुल तिरेका छौँ, तर महिना दिनमा चार दिन पनि राम्रोसँग बिजुली बाल्न पाएको अवस्था छैन, कतिबेला आउँछ कतिबेला जान्छ पत्तो नै हुँदैन, प्राधिकरणलाई फोनबाट जानकारी गराउँदा पनि वास्तै गर्दैनन्, अब यो समस्या कसलाई सुनाउनु, आइहाल्यो भने बाल्ने हो, नत्र यत्तिकै बस्न बाध्य छौँ ।”
 
विद्युतका कारण विद्यार्थीलाई अनलाइन कक्षा लिनसमेत समस्या भएको छ । नियमित विद्युत् सेवा अवरोध हुँदा उनी शिक्षा लिनबाट समेत बञ्चित भएको अभिभावकको गुनासो छ । यता शिक्षकले पनि विद्यार्थीलाई अनलाइन अध्यापन गराउन सकेका छैनन् ।
 
जनसेवा आधारभूत विद्यालयका शिक्षक नवराज लुइँटेलले भन्नुभयो, “विद्युत् सेवा अवरोध हुँदा विद्यार्थीले शिक्षासमेत लिन पाएका छैनन्, विद्युत् नभएपछि उनीहरुलाई कसरी अनलाइन अध्यापन गराउने हामीलाई पनि समस्या छ, विद्युतलाई नियमित बनाउन सरोकारवाला पक्षको किन ध्यान नभएको होला ? दैनिकजसो भर्चुअल तालिम हुन्छ, त्यस्ता तालिम लिन पनि समस्या छ, यो समस्याको समाधानमा ध्यान दिन जरुरी छ ।” विद्युतका कारण मोबाइल चार्ज गर्नसमेत नागरिकलाई समस्या भएको छ ।
 
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले भने वर्षात्, हावाहुरी तथा ओभरलोडका कारण विद्युतमा समस्या भएको जनाएको छ । स्थानीय हाइड्रोपावरबाट उत्पादन भएको विद्युतलाई व्यवस्थापन गर्न समस्या भएका कारण विद्युत् अवरोध हुने गरेको कार्यालयको भनाइ छ । कार्यालय प्रमुख सुधीरकुमार रायले भने, “हाम्रो सिस्टमले लोड व्यवस्थापन गर्न नसक्दा विद्युतमा समस्या छ, वर्षात्को समय लाग्यो स्थानीयस्तरमा सञ्चालनमा रहेका पावरहाउसको उत्पादन क्षमता बढेको छ, उनीहरुले उत्पादन गरेको विद्युतको व्यवस्थापन तथा खपत नहुँदा यो समस्या देखिएको छ, यसको निराकरणका लागि काम गरिरहेका छौँ, कुनै अवरोधबिना निरन्तर काम भएमा तीन महिनासम्ममा यो समस्या समाधान हुन्छ ।”
 
जिल्लाको आन्तरिक खपत कम भएका कारण यहाँका पावरहाउसले उत्पादन गरेको विद्युत् आन्तरिकरूपमा वितरण गर्न समस्या भएको कार्यालयले जनाएको छ । प्रमुख रायले भने, “हाम्रो जिल्लामा सबैभन्दा बढी विद्युतको माग एक हजार किलोवाट छ, यहाँको दुई पावरहाउसबाट कम्तीमा पनि पाँच मेगावाट र बढीमा १३ मेगाावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, हाम्रो विद्युत् खपत कम भएका कारण यहाँको पावरहाउसले उत्पादन गरेको विद्युत् आन्तरिकरूपमा जिल्लामा वितरण गर्न पनि समस्या छ, थोरैमा पनि हाम्रो जिल्लाको खपत तीन मेगावाट भएको भए आन्तरिकरूपमा पनि वितरण गर्न सकिन्थ्यो, त्यसले पनि हालको समस्या समाधान भूमिका खेल्ने थियो त्यो पनि सम्भव भएन ।”
 
भोजपुुरमा १८ हजार अर्थात् ५३ प्रतिशत नागरिक केन्द्रीय विद्युत् पहुचमा रहेको कार्यालयले जनाएको छ । यहाँ हिले–भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइन अन्तर्गत १९ कात्तिक २०६७ देखि निर्माण शुरु भएको राष्ट्रिय प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै विद्युत् सेवा विस्तार भएको हो । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङमा केन्द्रीय प्रसारणलाइन र स्थानीयस्तरमा उत्पादन भएको विद्युत् गरी गाउँपालिकामा ९७ प्रतिशतभन्दा बढी विद्युत्को पहँुच पुगेको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए ।
 
दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाको करिब १० प्रतिशत भूभागमा मात्र विद्युत् विस्तार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भोजपुर नगरपालिकाका सबै वडामा नै विद्युत् पुगेको भए पनि केही वडाका सबै घरपरिवारमा पुग्न केही समय लाग्ने नगर उपप्रमुख ममिता राईले जानकारी दिए । षडानन्द नगरपालिकाका करिब ७० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार भइसकेको र अन्य क्षेत्रमा पनि विस्तारको काम भइरहेको नगरपालिकाले जनाएको छ ।
 
साल्पासिलिछो, आमचोक र अरुण गाउँपालिकाको केही वडामा विद्युत् विस्तार भए पनि अधिकांश ठाउँमा विद्युत् पुग्न सकेको छैन । ती स्थानीय तहले पनि सबै ठाउँमा विद्युत् विस्तार गर्ने लक्ष्यका साथ योजना बनाएर काम अगाडि बढाएको बताउने गरेका छन् । पौवादुङमा गाउँपालिकामा करिब रु चार करोड लागतमा बोलपत्र आह्वान गरी उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ विद्युत् विस्तारको काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

प्रतिक्रिया