भर्खरै

विद्युत् अनियमित हुँदा २ वटा वडाका स्थानीयलाई सास्ती

  • प्रकाशित मिति : आइत, साउन १०, २०७८
  • -
title

रुकुम पूर्व, साउन । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ र १३ अर्थात् साविक कोल गाविसका बासिन्दा विद्युत् अनियमितताका कारण सास्ती भोग्न बाध्य छन् ।
गाउँपालिकाको वडा नम्बर १३ स्थित ओख्मा खोला लघु जलविद्युत् आयोजनाबाट अनियमित विद्युत् सेवा प्रवाह हुँदा स्थानीयले सास्ती खेप्नु परेका हुन् ।
६९ किलोवाट क्षमताको ओख्मा खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएको समयदेखि नै विद्युत् सेवा अनियमितताका कारण सास्ती बेहोरिरहेको वडा नम्बर १२ गोल्खाडाका इन्शेष पुन मगरले बताए । 
पाँच वर्षअघि सञ्चालनमा आएको ओख्मा खोला लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पटक–पटक अनियमित हुँदासमेत सरोकारवाला निकायको ध्यान नपुगेको पुनको भनाइ छ । 
पछिल्लो पटक असारदेखि हालसम्म विद्युत् आउने÷जाने भइरहेकाले शुल्क मात्र तिरिराख्नुपरेको पुनले सुनाए ।
विद्युत् नियमित हुनुपर्ने भनी वडा कार्यालय, विद्युत् सञ्चालक समितिसमक्ष पटक–पटक माग राख्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको पुनको दुखेसो छ । 
वडा नम्बर १२ का वडाध्यक्ष गंगाबहादुर पुन मगरले ग्राहकको गुनासोलाई बेवास्ता नगरेको बताए । विद्युत् निर्माण गर्दाको समयमै काम राम्रोसँग नभएकाले त्यसको असर अहिले भोगिरहनु परेको वडाध्यक्ष पुनले जानकारी दिए ।
विद्युत् उत्पादन निर्माण कार्यमा निर्माण उपभोक्ता समितिले दिगोपन काम नगरेकाले हाल समस्या आइरहेको पुनको भनाइ छ ।
 
 
विद्युत् नियमित गर्न छिट्टै स्थानीयसहित विद्युत् उपभोक्ता समितिसँग बैठक बसी समस्या समाधानतर्फ लाग्ने वडाध्यक्ष पुनले दाबी गरे । 
विद्युत् सञ्चालक समितिले भने अधिकांश सेवाग्राहीबाट उपभोग गरेबापतको शुल्क उठ्न नसकेकाले हाल विद्युत्मा देखिएको समस्या समाधान गर्न नसकिएको बताएको छ ।  वडा नम्बर १२ र १३ वडाका करिब १ हजार घरधुरी र प्राथमिक स्वास्थ्य केन्द्र कोललाई समेत विद्युत् परिपूर्तिमा समस्या भइरहेको छ ।   पालिका खबर

प्रतिक्रिया