भर्खरै

बागलुङ वितरण केन्द्रले लाइन काटेर रु ३५ लाख बक्यौता असुल

  • प्रकाशित मिति : बुध, साउन १३, २०७८
  • - विद्युत संसार संवाददाता
title

बागलुङ, साउन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलले गत  आर्थिक वर्षमा ग्राहकको विद्युत लाइन काटेर रु ३५ लाख बक्यौता असुल गरेको छ ।
केन्द्र बारम्बार महशुल तिर्न ताकेता गर्दा पनि समयमा महशुल नबुझाएका ४६४ जना ग्राहकहरुको लाइन काटेर बक्यौता रकम असुल गरेको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । 
गोशालीका अनुसार महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएका छौं । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ । 
लाइन काटिएपछि बल्ल ग्राहकले बक्यौता रकम बुझाउने गरेका छन् । बक्यौता नतिरेसम्म लाइन नजोडिने केन्द्रले जनाएको छ ।
लाइन काटिएपछि पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर केन्द्रले कारवाही अगाडि बढाउन सक्ने प्रमुख गोशालीको भनाई छ । गत आवमै कालोसूचीमा रहेका १६ जना पुराना ग्राहकबाट रु तीन लाख आठ हजार बक्यौता असुल गरिएको थियो । यस्तै ४१ ग्राहकलाई विद्युत् चुहावट गरेको आरोपमा कारवाही गरिएको छ । केन्द्रले अहिले जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तारको काम गरिरहेका बताए । विद्युतीकरण कार्यक्रममार्फत गत आवको शुरुमै बडिगाड र ढोरपाटन नगरपालिकाकामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको थियो ।
 
ताराखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा पनि विद्युत् विस्तार भइरहेको छ । जिल्लाको करिब ६५ देखि ७० प्रतिशत ठाउँमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भइसकेको र आगामी वर्षसम्ममा सबैतिर पुग्छ, त्यहीअनुसार बजेट माग गरेका बताए । 
 
तमानखोला र निसीखोला गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीहरू गाउँमै सञ्चालित लघुजलविद्युत् आयोजनाका भरमा छन् । गत आवमा विद्युत्का एक हजार ९०५ जना नयाँ ग्राहक थपिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया