भर्खरै

नलगाड जलविद्युत आयोजनाको डिपिआर निर्माण कार्य अधुरै

  • प्रकाशित मिति : शुक्र, साउन १५, २०७८
  • -
title

 
जाजरकोट । नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत आयोजना (४१७) को डिपिआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ ।
 
आयोजनाको डिपिआरको काम अष्ट्रेलियन कम्पनी स्मेकले गरिरहेको छ । स्मेकले डिपिआरको काम करीब ८५ प्रतिशत सकिएको र बाँकी १५ प्रतिशत कामका लागि सन् २०२१ को सेप्टेम्बरसम्ममा काम पूरा हुने जनाएको छ । स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्तरुपमा डिपिआरको काम गरिरहेका छन् । सन् २०१६ मा नै ३१ महिनामा डिपिआरको कामसक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता गरिएको थियो ।
 
यसअघि डिपिआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म नौ महिना दोस्रोपटक डिपिआरको समयावधि थप भइसकेको छ । अझै काम नसकिँदा कामको गतिदेखि स्थानीयवासी शङ्का गर्न थालेका छन् ।  
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा सावित हुनेरूपमा अघि बढाएको छ । सरकारले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गर्दै आएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ । त्यसबारे मन्त्री, सचिव र सहसचिवस्तरमा जाइकासँग पटकपटक छलफल गरिएको थियो ।
 
डिपिआरको हालसम्मको तयार भएको विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत रु ३१ करोड र प्रसारण लाइनसहित रु ३५ करोड खर्च हुने देखिएको छ । जलाशययुक्त आयोजना भएका कारण जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने देखिएको हो ।
 
नलगाड–७ दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुनेछ । नलगाडस्थित नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीन सहायक सुरुङ बन्नेछन् ।
 
यस्तै २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ । आयोजनामा चार टर्वाइन रहने छन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार २३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुनेछ ।
 
आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको कोहलपुर सवस्टेशनमा जोडिने छ । नलगाडकै दानीपीपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माण कार्य जारी छ । नलगाड निर्माणकै लागि भन्दै चार मेगावाटको ताँसुगाड जलविद्युत आयोजनाको काम गर्नका लागि डिपिआरको काम जारी छ । 
 
अहिलेसम्म आयोजनाको यस्तो छ प्रगति 

साठी महिना पूरा हुँदासम्म आयोजना निर्माणस्थल र बाँधस्थलमा (मेकानिकल टेष्ट)ढुङ्गाको क्षमता जाँचको काम सकिएको छ । भूमिगत विद्युत उत्पादन गृहमा ३२० मिटर लामो सुरुङ निर्माण भएको छ भने बाँकी ५५ मिटर खन्न बाँकी छ ।
 
सो कामका लागि भारत लगायत देशबाट मजदूर आउने क्रममा रहेको आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए । आयोजनाको डिपिआरको काम तोकिएको मितिभन्दा ढिला गरेको भन्दै सरकारलाई डिपिआर गर्ने कम्पनीले १० प्रतिशत विलम्ब शुल्क तिर्नुपर्ने नियम छ । 
 
थापाका अनुसार पाँच महिनाभित्र काम पूरा हुने अपेक्षा लिइएको छ । आयोजनास्थलमा जग्गा अधिग्रहणको काम सकिएको र बाँकी घरको मुआब्जा दिन मात्र बाँकी छ । घरको मुआब्जा दिनका लागि यही आर्थिक वर्षमा त्यो काम शुरु हुने उनले बताए ।
 
आयोजनास्थलमा ६०० भन्दाबढी घर छन् । विसं २०७६ भदौ २७ गतेदेखि हालसम्म निर्माण हुँदै गरेका घरको मुआब्जा आयोजनाले नदिने निर्णय भएको छ ।
 
कालीमाटीदेखि आयोजनास्थलसम्म पुल बाहेक सडक निर्माण कार्य पूरा भएको छ । पुस मसान्तसम्म पुलको कामसक्ने ठेकेदार कम्पनीले जनाएको छ । आयोजनाको विद्युत उत्पादनगृहदेखि काँडादल्लीसम्मको बाटो निर्माणका लागि प्रदेश वा आयोजना कसले बाटो बनाउने भन्नेमा सल्लाह भइरहेको छ । सबैको काम पूरा भएका कारण सडक निर्माणका लागि बोलपत्र खोल्ने काम मात्र बाँकी छ ।
स्रोत : खरिबोट अनलाइन

प्रतिक्रिया