भर्खरै

मैलुङ खोला जलविद्युत कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन, हालसम्म ३५ गुणाबढी आवेदन

  • प्रकाशित मिति : सोम, साउन १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । 
कम्पनीले गत बिहिबारदेखि खुल्ला गरिएको आइपिओ भर्ने म्याद आज सकिने भएको हो । 
कम्पनीको सार्वजनिक निष्कासनमा हिजो साँझ ५ बजेसम्ममा मागभन्दा ३५ गुणाबढी आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।  सो अवधिसम्म १७ लाख ७६ हजार ७११ जना आवेदकहरुबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरीद माग भएको सिडिएसले जनाएको छ । 
 
कम्पनीले आइपिओमा छिटो अवधि साउन १८ गतेसम्ममा आवेदन दिन सकिने र सो समयसम्म मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म आवेदन दिन सकिने भनेकोमा मागभन्दा बढी आवेदन परेपछि छिटो अवधिमा मात्रै शेयर खरिदका लागि आवेदन दिन पाइने भएको हो । 
 
कम्पनीले गत बिहीबारदेखि  जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजारमध्ये २० प्रतिशत अर्थात  ७ करोड ३६ लाख २८६ रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो । 
 
प्रतिशेयर  १०० रुपैयाँको अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 
कम्पनीले निष्काशन गर्ने कूल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 
 
बाँकी रहेको ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । आइपिओ खरिदका लागि लगानीकर्ताहरूले सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालय, मेरो शेयर वेभसाइट र मेरो शेयरको मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
 
कम्पनीले निष्काशन गरेको आइपिओले केयर रेटिङ्ग नेपालले  वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउने सङ्केत केयर एनपी डी रेटिङ्ग प्राप्त गरेको छ । 
 
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा सनराईज क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ । सर्वसाधारणमा आइपिओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया