भर्खरै

मैले ठूलो चुनौतीका साथ दोस्रो इनिङ स्वीकार गरेको छु : कार्यकारी निर्देशक घिसिङ

  • प्रकाशित मिति : बुध, साउन २७, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, साउन । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदबहाली गरेका छन् ।
 
नेपाल विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक घिसिङले प्राधिकरणमा पुगेर पदबहाली गर्दै आफुले ठूलो चुनौतीका साथ दोस्रो इनिङ स्वीकार गरेको बताएका छन् ।
 
प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले गरेको स्वागत कार्यक्रममा आफ्नो भनाई राख्दै उनीहरूले पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन सबैको साथ सहयोग चाहिने बताएका छन् ।
व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।
 
कार्यक्रममा घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताएका छन् । उनले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताए ।
 
चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन् । घिसिङलाई ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा नियुक्ति पत्र दिएसँगै उनले आजै पदबहाली  गरेका हुन ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया