कुलमानको दोस्रो ईनिङ : चुनौती र जनताको आशा

  • प्रकाशित मिति : बुध, भदौ ९, २०७८
  • - विद्युत संसार
title

काठमाडौं ९ भदौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकेर २०७७ भदौ २९ गते बिदा भए । जनस्तरबाटै कुलमानलाई पुन नियुक्ती गरिनुपर्ने माग व्यापक रुपमा उठ्यो । उनको नियुक्तिको माग सहित देशभर प्रदर्शन समेत भयो । आफ्नो चार वर्षे कार्यकालमा १८ घण्टे लोडसेडिङ्ग अन्त्य देखि घाटामा गएको प्राधिकरण सरकारी कार्यालयहरु मध्ये सबैभन्दा धेरै नाफामा लैजाने जस्ता ठूलो उपलब्धी हासिल गरेका कुलमानलाई पूनः ४ वर्षका लागि नियुक्त गर्न तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत दबाव थियो ।  
 
 नेकपा अध्यक्ष प्रचण्डसहित माधव नेपाल लगायतका नेताहरू कुलमानलाई दोहो¥याउने पक्षमा हुँदाहँुदै तत्कालिन प्रधानमन्त्री केपी ओली दोहो¥याउने पक्षमा देखिँएका थिएनन् । दबावका बाबजुद पनि ओलीले विभिन्न बाहानामा कुलमानलाई अवकास दिदै प्राधिकरण अन्तर्गत कार्यरत रहेका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको प्रमुख कार्यकारीमा ल्याए । 
नेकपाभित्रको अन्तरविरोधका कारण कुलमान पूनःनियुक्ति हुन सकेनन् । यतिसम्मकी कुलमानको विषयमा प्रधानमन्त्री ओलीदेखि उनको विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उनका प्रेस सल्लाहकार सूर्य थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पटक–पटक कुलमान विरुद्ध बोल्दै आएका छन् । मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य कुलमानले नभई तत्कालिन प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा गरिएका विद्युत खरिद सम्झौताको परिणामले हो ।’ जस्ता अभिव्यक्ति ओलीनिकट नेताहरुको थियो ।
सरकारले प्राधिकरणको निर्देशकमा शाक्यलाई चारवर्षको लागि नियुक्ति दिइएको थियो । तर देशमा भएको राजनैतिक घटना क्रमले विद्युत प्राधिकरणमा पनि यसको ठूलो प्रभाव पर्न पुग्यो । पाँचवर्षका लागि सरकारमा पुगेको नेकपा कम्युनिष्ट पाटी आफ्नै अमर्कण्यताका कारण साढे तीन वर्षमा नै सरकारबाट बाहिरिन पुग्यो । सर्वाेच्च अदालतको फैसला पछि नेपाली काँग्रेशका सभापति शेरवबहादुर देउवा देशको प्रधानमन्त्री बने । काँग्रेश, माओवादी लगायत दलहरु मिलेर बनेको सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा माओवादी केन्द्रका नेतृ पम्फा भुसाल नियुक्त भए । उनको नियुक्त सँगै पहिलो टार्गेट बन्यो प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन गर्ने । 
 
उनको योजनालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखि वर्तमान प्रधानमन्त्री देउवा सम्मले सहयोग गरे । अन्तत  वर्तमान प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेश सहित विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरी प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै नियुक्ति गरिएको छ । झण्डै ११ महिनापछि कुलमानको पुनरागमन आम नेपालीका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पहिलो सकारात्मक कामका रुपमा लिइएको टिप्पणी भइरहेको छ । 
चार वर्षको अवधिमा उनले गर्न सक्नेजति सबै काम गरे । लोडसेडिङ अन्त्य गरेर आम नागरिकको मनमा बस्न सफल घिसिङले कुलेखानी तेस्रो, माथिल्लो त्रिशुली थ्री ए र राहुघाट जस्ता आयोजना सम्पन्न गरे । आम मानिस उनलाई दोस्रो पटक देख्न चाहन्थे । तर ओलीले उनलाई नियुक्त गरेनन् । प्रधानमन्त्रीका सचिवालयका रहेकाले कुलमानलाई भगवान बनाउन खोजिएको भन्दै चर्को अलोचना समेत गरे । अन्ततः कुलमान ठूलो चुनौतिका साथ पुनः प्राधिकरण सम्हाल्न आइपुगेका छन् । 
 
कुलमान पहिलो कार्यकालमा नियुक्ति भएको जस्तो समस्या हाल प्राधिकरणमा छैन । पहिले लोडसेडिङ नै मुल समस्या बनेको थियो भने अहिले अवस्था फेरिएको छ । विद्युत खपतलाई स्वदेशी उत्पादनले सुख्खायाममा नपुग्ने र बर्खायाममा उत्पादन धेरै हुने हँुदा खेर गइरहेको बिजुलीको खपतको योजना बनाउनु हाल प्राधिकरणको मुख्य समस्या अगाडि सरेको छ ।
यस्तै विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको निरुपण गर्नुपर्नेछ । प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था छ । देशभर निर्माण भइरहेका प्रसारण लाइनको अवस्था सुधार्न आवश्यक छ । यस्तै, आम नेपाली जनताको इच्छालाई सम्बोधन गर्दै गुणस्तरीय बिजुली प्रवाह गराउनु उनको अर्को अहम् दायित्व रहेको छ । 
 
त्यसो त घिसिङको प्राधिकरणको नेतृत्वमा दोस्रो कार्यकाल सुरु गर्दा देशमा उत्पादित विद्युत बढी हुने र खपत नबढाए वा निर्यात नगरे ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै बहस भइरहेको छ । त्यसैले उनको पहिलो र दोस्रो कार्यकालको अवस्था विल्कुलै फरक छ । विद्युत माग र आपूर्तिको अवस्था हेर्ने हो भने दीर्घकालीन रूपमा विद्युत् माग धान्न र आत्मनिर्भर बन्न ठूला र जलाशययुक्त आयोजना निर्माण सुरु गर्नुपर्ने बेला भइसकेको छ । २१औ शताब्दीको माग अनुसार प्रविधिमार्फत डिजिटल अवधारणामा प्राधिकरणका सिस्टमहरु ढाल्दै लानु अबको मुख्य चुनौती रहेको छ । त्यसका लागि नीति र कार्ययोजनाको समेत आवश्यकता लिनु पर्ने चुनौती छ । यसैले बेलैमा समय सदुपयोग गरेको खण्डमा कुलमानको दोस्रो कार्यकाल पनि सफल हुने आशा गर्न सकिन्छ । प्राधिकरणमा सफल व्यवस्थापकको ट्याग लागि सकेको कुलमानको कार्यकालको पुनः अग्नि परिक्षा शुरु भएको मान्न सकिन्छ ।

प्रतिक्रिया