भर्खरै

‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार थप

  • प्रकाशित मिति : बिही, भदौ १०, २०७८
  • - रासस
title

झापा, भदौ । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । 
 
भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ ।
 
यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताए । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए । सो बजेट डीपीआर निर्माण र तारबारमा खर्चिने कार्यक्रम छ ।
 
उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटविरुवा रोप्ने योजना छ । कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो । अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म छ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ ।
 
यस वर्ष चारआली वन खण्डदेखि मागुरमाडीसम्मको छ किलोमिटर र मागुरमाडी वनखण्डको ५२ किलोमिटरमा तारबार निर्माण सुरु गरिने भएको हो । क्रमागत बजेटअनुसार वन मन्त्रालयले नयाँ तारबारका लागि रु तीन करोड विनियोजन गरेको र राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने बताइएको छ । बुधबार मेचीनगर नगरपालिकाले परियोजना क्षेत्रका वन समितिका पदाधिकारी, नगर पदाधिकारी, प्रदेशसभा सदस्य र वन संरक्षण क्षेत्रको टोलीबीच यसै विषयलाई लिएर अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका सहभागी सबैले जनताको निरन्तरको माग र जनप्रतिनिधिको लामो प्रयासपछि विद्युतीय तारबार निर्माण सुरु हुन लागेकाले खुशी व्यक्त गरेका थिए ।
 
मेचीनगरका नगरप्रमुख विमल आचार्यले जङ्गली हात्तीबाट सिर्जित समस्याको दीर्घकालीन समाधानमा सबैपक्ष लाग्नुपर्ने बताए । उपप्रमुख मीना उप्रेतीले हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारबार नै उत्तम उपाय रहेको बताए । जङ्गलमा आहार नपाएपछि भोकाएको हात्तीले गाउँघर चहारेर त्रास सिर्जना गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले करिडर निर्माण गरिरहँदा हात्तीले रुचाउने र अघाउने आहारका लागि उपयुक्त बोटविरुवा हुर्काउनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरे ।
 
हात्ती करिडरले मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्न सघाउने भए पनि सरकारले क्रमागत योजनामा बजेट दिने गरेकाले यसको निर्माणमा विलम्ब हुँदै आएको छ । एकैपटकमा सबै वन क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिनुपर्नेमा किस्ताबन्दीमा काम हुँदा हात्तीबाट हुने उपद्रो नघटेको स्थानीयवासीको गुनासो छ । अर्कातर्फ निर्माण भइसकेको करिडर क्षेत्रको जङ्गलमा हात्तीको आहारका लागि बोटबिरुवा नरोपिएका कारण हात्ती भोक मेटाउन गाउँ पस्न छाडेका छैनन् । यस क्रममा पछिल्ला दिनमा मानवीय क्षति बढ्दै गएको छ । 
 
सबैभन्दा पहिले निर्माण गरिएको बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टा छेउसम्मको १८ किलोमिटर विद्युतीय तारबारमा भारतबाट आउने हात्तीको बथानले यस वर्ष निकै तोडफोड गरेको पाइएको छ । भारतबाट १०० को हाराहारीमा हात्ती आउने गर्दा तिनलाई धपाउन सकिने सम्भावना हुँदैन । अर्कातिर स्थानीय जङ्गलमा एक दर्जन रैथाने हात्ती छँदैछन् ।  
 
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनाका बारेमा जानकारी गराउँदै अहिले बनाउन लागिएको डीपीआरमा सरोकारवाला सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले हात्ती करिडर निर्माण गर्दा भद्रपुर र मेचीनगरका केही क्षेत्रमा आवादी क्षेत्र पर्ने उल्लेख गर्दै त्यहाँ विद्युतीय घेराबार गर्न कठिन भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 21 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago