भर्खरै

नेपाल र बंगलादेशको ऊर्जा सचिवहरूको तेस्रो बैठक , सहकार्यमा सुनकोसी–३ निर्माण गर्ने

  • प्रकाशित मिति : मंगल, भदौ २९, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । नेपाल र बंगलादेशको ऊर्जा सचिवहरूको तेस्रो बैठक सम्पन्न भएको छ ।  
 
 बैठकले नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना सुनकोसी–३ संयुक्त रुपमा निर्माण गर्ने सहमति भएको छ । 
सोमबार र मंगलबार दुई दिन भएको भर्चुअल रुपमा सम्पन्न तेस्रो बैठकले सुनकोसी–३ संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको हो ।
बैठक नेतृत्व गरेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार आगामी डिसेम्बरअघि नै निर्माणका विभिन्न प्रक्रिया र ढाँचामा छलफल हुने जनाएको छ ।
यस भन्दला पहिलेको दुई बैठकमा अरुण चौथो, किमाथाङ्का अरुण, सुनकोशी तेस्रो, खिम्ती शिवालय र प्रदेश नं १ को अन्य कुनै एक आयोजना प्रस्ताव गरेको थियो । यी मध्ये दुईमा छलफल गर्दा सुनकोसी–३ मा अघि बढ्ने सहमति भएको मन्त्रालयले जनाएको छ  । 
सुनकोसी–३ को विस्तृत अध्ययन आगामी डेढ महिनाभित्र पूरा हुँदैछ भने खिम्ती शिवालय (१५४७ मेगावाट) पूरा हुन अझै डेढ वर्ष लाग्नेछ । यसअघि सरकार आफैले अध्ययन गर्दै आएका विभिन्न जलाशययुक्तमध्ये पाँचवटा आयोजना बंगलादेशलाई दिन सकिनेबारे छलफल गरी सूची तयार गरेको थियो ।
यी पाँचमध्ये हिजो सम्पन्न ऊर्जा सहसचिव स्तरीय बैठकले सुनकोसी–३ र खिम्ती शिवालयमध्ये एउटा बनाउन सिफारिस गरेको थियो । सहसचिव स्तरीय बैठकले गरेको सिफारिसअनुसार आज सचिव स्तरीय बैठकले सुनकोसी–३ लाई रोजेको हो । 
 
मन्त्रालयले हामीलाई दिएको जानकारी अनुसार सुनकोसी–३ नेपाल विद्युत् प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्त रुपमा अघि बढाउनेछन् ।  ‘संयुक्त रुपमा निर्माण गरेपछि बंगलादेशले पनि आफ्नो देशमा बिजुली लैजान सजिलो हुने र ‘दुवै देशले आ–आफ्नो सीमासम्म प्रसारण लाइन सुधार्ने सकिने छ । 
 
यसैगरी बैठकमा दुवै पक्षले बंगलादेशसँग विद्युत् व्यापारका लागि विद्यमान भारतीय प्रणाली उपयोग गर्नेमा सहमति जनाएका छन् । दीर्घकालमा भने नेपालबाट बिजुली निर्यात गर्न समर्पित प्रसारण लाइन बनाउनका लागि संयुक्त रुपमा पहल गर्ने पनि सहमति छ ।
 ‘हाललाई विद्यमान नेटवर्क (प्रसारण लाइन) प्रयोग गर्ने र पछि छुट्टै प्रसारण लाइन बनाउन त्रिदेशीय बैठक राख्न पहल गर्ने सहमति भएको छ । यसैगरी बैठकमा आ–आफ्नो क्षेत्रमा हासिल भएका दक्षता र विशेषज्ञता एक अर्का देशमा उपयोगमा आउने गरी तालिम तथा ज्ञान आदान प्रदान गर्ने सहमति भएको छ ।
बंगलादेशमा ‘सोलार होम सिष्टम’ (सौर्य बत्ती), वितरण तथा प्रसारण लाइन निर्माणमा दक्षता छ भने नेपालसँग साना ठूला जलविद्युत् आयोजना निर्माणको अनुभव छ । यी अनुभव र ज्ञान साटासाट गर्ने पनि सहमति भएको हो । आजको बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका ऊर्जा सचिव मोहम्मद हबिबुर रहमानले गरेका थिए । नेपालका लागि बंगलादेशका राजदूत निमचन्द्र भौमिक पनि भर्चुल रुपमा बैठकमा जोडिएका थिए ।
 
सन् २०१८ अगस्टमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच भएको उक्त सम्झौतापछि ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यको बाटो खुलेको हो । सम्झौतापछि दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरीय संयुक्त प्राविधिक कार्यदल गठन भएको थियो । कार्यकारिणी समितिको यो तेस्रो बैठक हो । 
 

प्रतिक्रिया