भर्खरै

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने ‘आईस्पान’ को निर्णय

  • प्रकाशित मिति : शुक्र, असोज १, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, भदौ । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने भएको छ ।
 
नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि इन्टरनेटको सेवा प्रदायक कम्पनीहरुले पनि शुल्क बढाउने निर्णय गरेका हुन् ।
 
नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने भएको हो ।
इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)को बुधवार बसेको बैठकले शहरी क्षेत्रमा हरेक ग्राहकसँग प्रति–महिना एक सय ५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको आईस्पानले जनाएको छ ।
 
नेपाल विद्युत् प्राधिकरणलाई पोल भाडा नबढाउन आग्रह गर्दा पनि प्राधिकरणले नमानेको भन्दै शुल्क बढाउने निर्णय गरिएको आईस्पानको भनाइ छ ।
 
यसअघि विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेवापत प्रतिमहिना दुई सय ५० रुपैयाँ लिने भएपनि अबदेखि किलोमिटरका दरले शुल्क तोकेकोले र हिसाब गर्दा अहिले एउटा पोलको मासिक भाडा सात सय ५० रुपैयाँसम्म पर्न आउने भएकाले शुल्क बढाउनुको अर्को विकल्प नभएको आईस्पानले जनाएको छ ।
 
शुल्क बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिने उनीहरूले तयारी गरेका छन् । दूरसञ्चार प्राधिकरणले इन्टरनेटको अनुमति दिएलगत्तै शुल्क बढ्नेछ ।

प्रतिक्रिया