महसुल नतिर्नेको विद्युत् कटौती अभियान

  • प्रकाशित मिति : शुक्र, असोज १, २०७८
  • - विद्युत संसार
title

पर्वत, असोज । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ ।  विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा विद्युत् नै काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने अभियान सुरु गरेको हो ।
 
अभियान सुरु गर्नासाथ सदरमुकाम कुश्माबजार क्षेत्रको केही ठाउँमा मात्रै २३ जनाको विद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेको पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले जानकारी दिए । 
विद्युत् काटिएकाबाट रु दुई लाख ६ हजार ८० असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाइ छ । अहिलेसम्म विद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन् । 
 
विद्युत् काटिएकामा सरकारी कार्यालय नपरेको जनाउँदै उहाँले क्षेत्रअनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाइएमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत विद्युत् सेवा अवरुद्ध हुनसक्ने बताए । सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ । 
 
महसुल समयमा नै तिरेमा उपभोक्ताका लागि छुट सुविधा हुँदासमेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्लेले बताए ।

प्रतिक्रिया