सैनामैनामा विद्युत् सब–स्टेसन शिलान्यास

  • प्रकाशित मिति : बुध, असोज ६, २०७८
  • - टीका खरेल
title

रूपन्देही/सैनामैना– रूपन्देहीको सैनामैना नगरपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ । विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रअन्तर्गत सैनामैनाको वडा नम्बर ९ पीपलडाँडामा ३३÷११ केभीए र १६.६ एमभीए निर्माण सुरु भएको हो ।

 
नगरमा विद्युत्को लो भोल्टेज, ओभरलोड र विद्युत् कटौतीको समस्यालाई समाधान गर्ने उद्देश्यसहित उक्त सब–स्टेसन निर्माण गर्न लागिएको सैनामैना नगरपालिकाले जनाएको छ ।
पीपलडाँडामा निर्माण हुने विद्युत् सब–स्टेसनको आइतबार सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले शिलान्यास गरे । कार्यक्रममा नगरप्रमुख कार्कीले अब सैनामैनामा बिजुली जाने र आउने समस्या सधैँका लागि अन्त्य हुने बताए । उनले नगरमा जनप्रतिनिधि आउँदा आधा उज्यालो, आधा अँध्यारो अवस्थामा रहेकामा अहिले पूरै क्षेत्रमा बिजुली पुगेको दाबी गरे ।
सैनामैना क्षेत्रमा निर्माण हुने औद्योगिक ग्राम, रिफ्रेस सेन्टर र निकट भविष्यमा स्थापना हुन लागेको विद्युतीय बस एसेम्बल प्लान्टलगायत क्षेत्रमा सब–स्टेसन निर्माणपछि विद्युत् आपूर्ति सहज हुने उनले विश्वास व्यक्त गरे । १ वर्षभित्र सम्पन्न गर्ने गरी आरके इन्टरनेसनल कम्पनीलाई ९ करोड ४५ लाख रुपैयाँमा ठेक्का दिइएको छ । 
१ वर्ष पहिला नै ठेक्का पाएको आरके इन्टरनेसनल कम्पनीले कृष्णनगरले २ वर्षमा सिभिलको काम सक्ने गरी ठेक्का पाए पनि कोरोनाका कारण सुरु हुन सकेको थिए ।  अबको १ वर्षमा सक्ने गरी काम गरिने कम्पनीका साइट म्यानेजर आरसी न्यौपानले बताए । 
विद्युत् प्राधिकरण बुटवल वितरण क्षेत्रका प्रमुख सुरेशकुमार महतोले विस्तारै विद्युत् आपूर्ति सहज हुँदै गएकाले मोतिपुर फिडरबाट ३३ केभीएको विद्युत ल्याएर सालझन्डी सब–स्टेसनमा जोडिने जानकारी दिए । यसबाट ४ वटा फिडरमा वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।  लुम्बिनी प्रादेशिक कार्यलयका सिभिल इन्जिनियर कृतिकान्ति शाहले ३३÷११ केभीएको काम समयमै सकिने जानकारी दिए ।
विद्युत् प्राधिकरण कार्यालय बुटवलका निर्देशक नवराज ओझाले रूपन्देहीलगायत जिल्लामा सधैँका लागि विद्युतीय समस्या समाधान गर्ने प्रयास भइरहेको बताए ।  विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलद्वारा निर्माण गरिने सालझन्डी–जीतपुर सब–स्टेसन ३३÷११ केभीए र १६.६ एमभीएको क्षमताको प्रसारण लाइन हुनेछ । 
 
 
 
सो सब–स्टेसन निर्माण गर्न ९ करोड ४५ लाख ५६ हजार ४ सय १४ रुपैयाँमा आरके इन्टनेसनल कृष्णनगर कपिलवस्तुले ठेक्का सम्झौता गरेको हो ।  कार्यक्रममा नगरपालिका उपप्रमुख बिना राना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवालालगायत सहभागी थिए । पालिका खबर

प्रतिक्रिया