सिँचाइका लागि प्रभावकारी बन्दै जलाशय

  • प्रकाशित मिति : बिही, असोज ७, २०७८
  • - रासस
title

तुलसीपुर ७ असोज । दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यका साथ २०७३ सालदेखि सञ्चानलनमा आएको ‘बृहत् दाङ उपत्यका सिँचाइ आयोजना’ले फड्को मारेको छ । अहिले सिँचाइ पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । 
 
लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीलगायतको काम भइरहेको छ । सो क्रममा कार्यालयले १४ जलाशय  निर्माण गरेको आयोजना प्रमुख राजु आचार्यले बताए । “जिल्लाको सबै खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ”, उनले भनेृ, “थप पूर्वाधार निर्माणको काम भइरहेको छ ।” 
 
जलाशय निर्माण गरिए पछि किसान उत्साहित भएका छन् । वर्षै देखि बाँझो रहेको जमिनमा सिँचाइ हुने भएको छ ।  आकाशे पानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका–१८ दूधगजेरी निर्माण समितिका अध्यक्ष  शेषमनि कुँवरले बताए । “धेरै जग्गा बाँझा थिए, अब सिँचाइ गर्न सकिने अपेक्षा छ”, उनले भने, “अब वैशाख, जेठमा पनि सिँचाइ गर्न सकिने भयो ।” निर्माण गरिएका जलाशयमा बर्सात्को समयमा पानी जम्मा गरिने छ । करिब दुई लाख घनमिटर पानी अट्ने जलाशयबाट ६० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने कुँवरले बताए । रु एक करोड ८३ लाखको लागतमा सो जलाशय निर्माण गरिँदैछ । 
 
घोराही उपमहानगरपालिका–२ र ४ स्थित सरेसोता जलाशय उपभोक्ता समितिका श्यामलाल भण्डारी सिँचाइसँगै माछापालन गर्ने योजना रहेको बताए । “पर्यटक आकर्षित गर्न डुङ्गा सञ्चालन गर्ने योजना छ”, उनले भने । रु दुई करोडको लागतमा निर्माण भइरहेको ३२ हेक्टर क्षेत्रफलमा  सिँचाइ गर्न सकिने उक्त जलाशयको क्षमता तीन लाख घनमिटर पानी अट्ने छ । 
 
यहाँ निर्माण गरिएका जलाशय प्राकृतिक तालभन्दा कम छैनन् । जलाशयका माध्यमले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने तुलसीपुर उपमहानगरपालिका–१८ का विष्णुप्रसाद दुलालले बताए । “वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ”, उनले भने । माछापालन गरेर आम्दानी गर्न सकिनेमा उहाँ आशावादी छन् । पिर्थली कुइरेसोता जलाशयबाट १२७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।   
 
जिल्लामा निर्माण गरिएका जलाशयबाट लिफ्टिङमार्फत सिँचाइ गरिने आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले बताए । “केही ठाउँमा सोलार र विद्युत्बाटै लिफ्टिङ गरिनेछ”, उनले भने । केही समय अघि निर्माण गरिएको  घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे तालमा बृहत् सिँचाइ आयोजनाअन्तर्गत पाँच लिफ्टिङ जडान गरिएको छ । रु ८४ लाखको लागतमा निर्माण गरिएको उक्त आयोजनाबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गरिँदै छ । 
 
जिल्लामा हालसम्म १४ जलाशय निर्माण गरिएका छन् ।  एक हजार ९२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने तुलसीपुरमा तीन, घोराहीमा पाँच, दङ्गीशरणमा पाँच र शान्तिनगरमा एउटा जलाशय निर्माण गरिएका छन् । पछिल्लो समय जलाशयको माग बढ्दै गएपछि ‘मास्टर प्लान’ निर्माण गरिरहेको आयोजना प्रमुख आचार्यले बताए । जिल्लाका झण्डै दुई सय ठाउँमा जलाशय निर्माण गर्न सकिने उनको भनाइ छ ।
 
कुनै बेला साना साना ‘सोता’ थिए । खोला बग्थे । ती खोलाबाट सीमित किसानले मात्रै सिँचाइको लाभ लिन पाउँथे । सयौँ बिघा खेतीयोग्य जमिन बाँझो हुन्थ्यो । सिँचाइको व्यवस्था नहुँदा धेरै युवा बेरोजगार भएका थिए । अहिले अवस्था फेरिएको छ । खेत–खेतमा सिँचाइ सुविधा पुगेको छ । बाँझा खेतमा अहिले लटरम्म अन्न, तरकारीलगायत उत्पादन भइरहेको छ । 
 
लिफ्टिङ पनि जलाशय जस्तै प्रभावकारी

जलाशयसँगै लिफ्टिङ पनि उत्तिकै प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बबई नदीबाट सोलारमार्फत लिफ्टिङ गरी सिँचाइ गर्न पानी तान्ने काम गरिएको छ । किसानलाई यसबाट सहज भएको छ । विगतमा कुलोबाट सिँचाइ गर्न मुश्किल हुने गरेकामा अहिले लिफ्टिङका कारण सजिलो भएको उपभोक्ता होताराम खत्रीले बताए । 
 
“कुलोबाट सिँचाइ गर्न सबैलाई सम्भव थिएन”, उनले भने । अहिले लिफ्टिङका कारण किसानलाई दुई बाली लगाउन सहज भएको छ । वैशाख–जेठमा मकै र तरकारी खेती तथा पुस–माघमा पनि अर्को खेती गर्न सहज भएको उनको भनाइ छ । सोलारबाट बबईको पानी तानिएको छ । जिल्लामा २६ लिफ्ट निर्माण गरी ८५७ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ । तुलसीपुुरमा आठ, घोराहीमा पाँच, दङ्गीशरणमा नौ, शान्तिनगरमा एक र बबईमा तीन लिफ्ट निर्माण गरिएको  सूचना अधिकारी गौतमले बताए । 
 
जिल्लामा ३३ वटा नयाँ प्रविधिमा आधारित सिँचाइ पोखरी निर्माण गरिएका छन् । ति पोखरीबाट ६०६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ । अहिले थप २० लिफ्ट निर्माणको काम भइरहेको छ । अठार लिफ्ट सिँचाइ प्रणालीको डीपीआर तयार भएको छ । भूमिगत सिँचाइअन्तर्गत खालु आवमा २५ डिप ट्युवेल निर्माण अन्तिम चरणमा छ । सत्र डिपबोरिङका लागि बोलपत्र आह्वान गरिएको गौतमले जानकारी दिए ।   

प्रतिक्रिया