भर्खरै

सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी, आजदेखि चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम सुरु

  • प्रकाशित मिति : आइत, असोज १०, २०७८
  • - रासस
title

काभ्रेपलाञ्चोक, १० असोज । सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले आजदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको छ ।
 
काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । कोरोनाको जोखिमका कारण अध्ययनको काम प्रभावित बन्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम धकेलिँदै आएको थियो । यसअन्तर्गत स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । विभागका अनुसार आयोजनाको प्राविधिकतर्फको अध्ययन सकिएको छ ।
 
आयोजनाको प्राविधिकतर्फको सर्भे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जीनियरिङ डिजाइनको काम सकिएको विभागका इञ्जीनियर सुवास थपलियाले जानकारी दिनुभयो । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको हो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने÷नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययनबाहेकमा थप बजेट विनियोजन गरेको थिएन ।
 
एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्भेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के–कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्न सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।
 
यसैबीच उक्त आयोजनाका लागि सरकारले गत भदौ अन्तिम साता बङ्गलादेशलाई प्रस्ताव गरेपछि आउँदो डिसेम्बरमा दुवै पक्षबीच आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप क्षेत्रको भ्रमणको सहमतिसमेत भएको थियो । आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौ २९ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति ९जेएससी०को बैठकले सुनकोसी तेस्रो निर्माण गर्न दिने प्रस्ताव अनुमोदन भएको हो ।
 
यसका साथै उक्त बैठकले ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि बङ्गलादेशलाई प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवाल जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोसी तेस्रो आयोजनाका लागि नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गर्नुभएको छ ।
 
नेपालबाट बङ्गलादेशसँग विद्युत् व्यापार गर्नसमेत आवश्यक तयारीका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देशबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको जनाइएको छ । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको सुनकोसी तेस्रो आयोजनालाई बङ्गलादेशले सरकारले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढेको हो ।
 
परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड बजेट विनियोजन गरेको  थियो । दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “हालसम्मको विविध प्रकारको अध्ययनबाट सुनकोसी दोस्रोभन्दा पनि तेस्रोको सम्भावना देखिँदै आएको थियो ।”
 
आयोजनाका लागि लुभुघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
 
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युतगृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्नेछ । वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४(१), अननुसूची–२ बमोजिम इआईए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सार्वजनिकरूपमा अपिल गरिसकेका छन् ।
 
सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेगावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोसी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।
 
विसं २०७५ चैत महिनामा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।
 
आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने तयारी भइरहेको विभागले जनाएको छ । आयोजना बन्दा माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ ।

प्रतिक्रिया