भर्खरै

माथिल्लो तामाकोशीको दुई साधारण सभा सम्पन्न, अब माथिल्लो अरुण निर्माण गर्ने तयारी

  • प्रकाशित मिति : मंगल, असोज १९, २०७८
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, असोज । दोलखाको लामाबगरमा निर्माण सम्पन्न भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको १२ औं र १३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 
कम्पनीको दुई साधारण सभा आज काठमाडौंस्थित दरबारमार्गको नेविप्राको सभाहलमा सम्पन्न भएको हो । 
 
उक्त सभाले आव २०७५/०७६ र २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरेको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा सोही कम्पनीका अध्यक्ष कुलमान घिसिङले स्वदेशी लगानीमा माथिल्लो तामाकोशीको निर्माण सफल भएसँगै कम्पनीले संखुवासभाको भोटखोला गाउँपालिका–४ छोङ्ग्राकमा रहेको १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने बताएका छन् । 
 
कम्पनीको आम्दानीले नेपालकै सबैभन्दा ठूलो आयोजना निर्माणको लागि प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए । विविध समस्याका बाबजुद समयमा आयोजना सम्पन्न गर्न नसकेकोले आयोजनाको लागत दोब्बर बढेको उनको भनाई छ । 
आयोजनाले असार २१ गते पहिलो युनिटबाट उत्पादन सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन गरेसंगै पहिलो युनिट (७६ मेगावाट) उत्पादन सुरु गरिएको थियो ।
 
चैतमा नै पहिलो युनिटबाट उत्पादन गर्ने लक्ष्य थियो । तर विभिन्न समस्या आएका कारण उत्पादन मिति धकेलियो । २०६८ सालमा निर्माण सुरु भएको आयोजना २०७२ निर्माण सक्ने लक्ष्य थियो । सो आयोजनाले वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट विद्युत बिक्री गर्ने छ भने त्यस वापत ९ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी आयोजनाले गर्नेछ । उत्तरी दोलखाको लामबगरमा रहेको विद्युत गृहबाट खिम्ती सबस्टेसन मार्फत विद्युत राष्ट्रिय ग्रीडमा जोडिएको छ । नेपाली लगानी र सीपबाट बनेको आयोजना निर्माणका लागि ७० अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
 
सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय अनुसार आव २०७५/ ७६ मा आर्थिक सहयोग उपलब्ध गराएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

प्रतिक्रिया