भर्खरै

अघिल्लो वर्ष देखि नै समस्याको समाधान नखोज्दा विद्युत खेर गयो : निर्देशक घिसिङ

  • प्रकाशित मिति : शुक्र, कार्तिक ५, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ५ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतका वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पर्याप्त काम नगर्दा अहिले विद्युत खेरजाने समस्या आएको बताएका छन् ।
 
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै ‘दैनिक ४–५ सय मेगावाट बिजुली अहिले खेर गइरहेको छ । यस्तो अवस्थाको आकलन गरेर गतवर्ष देखि नै काम गर्नुपर्ने थियो तर, त्यो नगर्दा अहिले अप्ठेरो अवस्था आएको निर्देशक घिसिङले बताए ।
 
दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको उनको भनाई थियो ।
विद्युतको खपत बढाउन प्रसारणलाइन सदृढीकरणको काम भइरहेको छ । तर कतै स्थानीयको अवरोध कतै अदालतको आदेशका कारण काम रोकिँदा समस्या भएको छ यसको समाधानको लागि प्राधिकरण प्रयास भइरहेको समेत उनले बताए ।
 
उद्योगहरुलाई मागअनुसार बिजुली दिन थालेका छौ । खपत रातरात बढाउन नसकिने भएपनि सम्भावित क्षेत्रमा बिजुली दिदै इन्डक्सन चुल्होको प्रयोग बढाउने, विद्युतीकरण फैल्याउनेसम्मका योजनामा काम गर्दै माग बढाउन प्रयत्न भइरहेको घिसिङको भनाई छ ।
 
समारोहमा निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताए । 
उनले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने बताए । उनले अपर अरुण र अरुण चौथो गर्दा करिब १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए ।
उनले आजको चुनौती भनेकै माग बढाउने र विद्युत खपत बढाउने रहेको बताउँदै वर्षात्को कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताए । 

प्रतिक्रिया