भर्खरै

भारतलाई बिजुली बेच्न नेपालले पायो अनुमति, मंगलबार रातिबाट ३९ मेगावाट विद्युत् भारत पठाउने

  • प्रकाशित मिति : बुध, कार्तिक १७, २०७८
  • - विद्युत संसार
title

काठमाडौँ १७ कात्तिक । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको छ । 
भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । एकतर्फी रूपमा भारतले विद्युत् बेच्ने अवस्थाको समेत अब अन्त्य भएको छ । इन्डियन इनर्जी एक्सचेन्जमा भाग लिने नेपाल पहिलो मुलुक समेत बनेको छ ।
प्रत्येक दिन बोलकबोलका आधारमा मूल्य निर्धारण हुने एक्सचेन्ज बजारमा नेपालले बुधबार बेच्ने बिजुलीका लागि प्रतियुनिट औसत ४ रुपैयाँ ३३ पैसा (२.७१ भारु) कबोलेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने भएको छ । नेपालले बुधबारका लागि न्यूनतम १.६० भारुदेखि अधिकतम ४.६८ भारु राखेर विद्युत् बेच्न मंगलबार रातिबाट ३९ मेगावाट विद्युत् भारत पठाउनेछ । २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतलाई बिक्री गर्न लागिएको प्राधिकरणले जनाएको छ । 
एक दिनको बोलकबोलबाट प्रतिस्पर्धी दर तय भएपछि अघिल्लो दिन रातको १२ बजेदेखि अर्को दिनको राति १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् बेच्न सकिन्छ । भारतले एक दिनमा हरेक १५ मिनेटको एउटा ब्लक बनाएर दैनिक ९६ वटा ब्लकमा विद्युत् किनबेच गर्ने गरेको छ ।
नेपालले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, मर्स्याङ्दी जलविद्युत् केन्द्रको ६९ मेगावाट र माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको ४५ मेगावाट विद्युत् बेच्न पनि नेपालले भारतसँग स्वीकृति मागेको प्राधिकरणले जनाइएको छ । 
प्राधिकरणका अनुसार अहिले दिउँसोको समयमा २ सय र राति ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर गइरहेको छ । तर भारतले जारी गरेको अधिकारप्राप्त संस्थाहरूले विद्युत् आयात÷निर्यातका लागि स्वीकृति तथा सहजीकरण प्रक्रियासम्बन्धी कार्यविधि २०२१ (प्रोस्युड्युर फर एप्रुभल एन्ड फेसिलेटिङ इम्पोर्ट÷एक्सपोर्ट अफ इलेक्ट्रिसिटी बाई डेजिग्नेटेड अथोरिटी–२०२१) मा अरू देशको लगानी रहेका प्रसारण र वितरण आयोजनाबाट विद्युत् नकिन्ने प्रावधान छ । भारतले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको विद्युत् बेच्न स्वीकृति दिएर अरू आयोजनामा स्वीकृति नदिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भारतलाई विद्युत् बेच्न ४ सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन प्रयोग हुनेछ । नेपालले अहिले राजविराज–कटैया, वीरगन्ज–रक्सौल, गण्डक–रामनगर, महेन्द्रनगर–टनकपुर र ढल्केबर मुजफ्फरपुर गरी ५ वटा प्रसारणलाइनबाट विद्युत् आदान–प्रदान गरिरहेको छ । प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार भारतीय कम्पनी नेसनल थर्मल पावर कोअपरेसन लिमिटेड (एनटीपीसी) मार्फत हुनेछ । 

प्रतिक्रिया