भर्खरै

बजारमा चहल–पहल, उत्साहजनक छैन व्यापार !

  • प्रकाशित मिति : बुध, कार्तिक १७, २०७८
  • - शिखर श्रेष्ठ
title

काठमाडौं १७ कात्तिक । तिहार झिलिमिलीको पर्व । विद्युतीय झिलिमिली बत्ती सुरु हुनुअघि मैनबत्ती र पाला बत्तिको माग अत्याधिक हुने गर्दथ्यो । पछिल्लो समय मैनबत्तीको माग घटेको छ भने विद्युतीय झिलिमिली बत्तीको माग बढ्दो छ । बत्तीको पर्व तिहार केही वर्षयता तिहारमा घरघरमा विभिन्न किसिमका रंगिबिरंगी झिलिमिली बिजुली बत्ती बाल्ने गरिन्छ । नेपालमा लोडसेडिङ्ग हटे पश्चात झिलिमिली बत्तीको बिक्री वितरण बढ्दै गएको छ । झिलिमिली बत्ती इलेक्ट्रिक पसलदेखि खुद्रा पसलमा समेत बिक्री हुने गरेको छ । खासगरी सिजनका बेला झिलिमिली बत्ती इलेक्ट्रिक पसल र सडक छेउमै समेत छ्याप्छ्याप्ती पाइन्छ । 
 
प्रत्येक वर्षजस्तो झिलिमिली बत्तीको माग बढ्दै गए पनि नेपालमा यसको उत्पादन हुन नसक्दा सामान्य बत्तीदेखि महँगो पर्ने सबै खाले झिलिमिली बत्ती विदेशबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ । व्यवसायीले आयात गरिएका सामग्री पनि समयमा आई नपुग्ने, मूल्यवृद्धि हुने जस्ता समस्या बजारमा आउने गरेको छ ।
तिहारलाई लक्ष्य गरी व्यवसायीले झण्डै दुई÷तीन महिनाअघि झिलिमिली बत्ती आयात गर्न सुरु गर्छन् । यसको बिक्री लक्ष्मी पूजाको एक हप्ताअघि अत्याधिक हुने व्यवसायीहरू बताउँछन् । तर हाल कोभिड महामारीका कारण बन्दाबन्दीको समय पश्चात् केही सहज भएको बजारमा मानिसहरुको चहल पहल बढेपनि विद्युतीय  सामग्रीको व्यवसाय भने सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन् । यति सम्मकी विद्युतीय व्यवसायी लाई तिहारको समय भनेको व्यापार गर्ने  सबैभन्दा व्यस्त समय भन्ने गरिन्छ तर यस समयमा समेत व्यवसायी फुर्सदिला नै छन् । 
अघिल्लो वर्ष कोरोना महामारीका कारण समग्र व्यापारको ४० प्रतिशत व्यापारमा खुम्चिन पुगेको थियो । यो वर्ष भने अघिल्लो वर्षको तुलनामा व्यापारले गतिलिनेमा केही आशा भएता पनि यसले आशा अनुरुप गति लिन नसकेको व्यवसायीहरु बताउँछन् । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले बजारमा चहलपहल भएपनि उत्साहित रुपमा व्यापार नभएको बताए । 
चीनबाट आयात गरिएको व्यवसायीको तिहार लक्षित सामग्रीहरुको आयात असहजताका कारण अघिल्लो वर्षको तुलनामा २० देखि २५ प्रतिशतमात्र तिहारको लागि झिलिमिली बत्ती आयात भएको छ । उनले भने ‘जे जती सामग्री बजारमा छन् ति प्राय अघिल्लो वर्षका हुन् । सोही कारण अघिल्लो वर्षको तुलनामा १० प्रतिशत देखि १५ प्रतिशत सम्ममा सामग्रीको मूल्यमा समेत वृद्धि भएको छ ।’ 
अध्यक्ष पौड्यालका अनुसार अनुमानित २० करोड रुपैयाँ तिहार लक्षित सामग्रीहरु आयात भएको छ भने २५ देखि ३० करोड सम्मको कारोवार भएको बताए ।
व्यवसायीले यो वर्ष तिहारका लागि ३÷४ महिना अगाडि देखि मगाएका सामग्रीहरु आवश्यक प्रक्रिया पुरा गर्दा समेत आयातमा असहजता हुँदा विद्युतीय व्यवसायी सँगै उपभोक्ता समेत मारमा परेका छन् । गतवर्ष भन्दा अगाडिका वर्षहरुमा आयात र बिक्रिवितरण अत्याधिक रहेपनि कोभिडका कारण दुई वर्षयता बाहिरी मुलुकबाट झिलिमिली बत्तिको आयात निकै कम भएको महासंघको भनाई छ ।
यस्तै रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष हरीहर ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापार ७० प्रतिशतले कमी आएको बताए । उनले भने अघिल्ला वर्षहरुमा १७ लाखसम्मको व्यापार म आफुले नै गर्दै आएको थिएँ तर यो वर्ष १ लाख देखि २ लाखको हारहारीमा व्यापार भएको छ । यो वर्ष चीनबाट सामग्री आयात नभएको र केही मात्रामा भारतबाट आएका सामग्रीहरु पनि उपभोक्ताले रुचि नदेखाउँदा बुटवल र रुपन्देहीको बजारमा तिहार विशेष चहलपहलमा कमी आएको उनको भनाई थियो ।  
स्वयम्भु आर वि इलेक्ट्रिकका रोशन श्रेष्ठले तिहारमा विद्युतीय बत्तीबाट राम्रो आम्दानी हुने बताउँछन् । दुई सयदेखि दुई हजार दुई सय रुपैयाँ पर्ने डिस्को लाइट, झिलिमिली, अण्डा बत्ती, कमल फूल, लालटिन, पाला, भगवानका मुर्तीलगायत सामग्री बढी बिक्रि हुने उनले जानकारी दिए । उनले भने ‘तिहार झिलिमिली बत्तिको राम्रो सिजन हो तर यो वर्ष भन्सार कडाइका कारण झिलिमिली बत्तीको भाउ बढेको छ । मूल्य बढेका कारण व्यापारमा समेत गिरावट आएको छ ।’
नेपालमा भित्रिने अधिकांश बत्तीहरु चीनबाट आयात हुन्छ । चीनबाट ९० प्रतिशत र १० प्रतिशत भारतबाट झिलिमिली बत्ती आयात हुँदै आएको छ । यसकारण उत्तरी नाका असहज भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको आयात पनि अत्यन्त न्यून हुने भएको हो । भारतीय मार्ग भएर सामग्री ल्याउँदा कन्टेनर भाडा पनि महँगो भएर ढुवानी भाडा अत्याधिक बढ्ने र बिक्री गर्ने मूल्यपनि बढ्दा समस्या भएको व्यवसायीहरुको भनाइ छ ।
व्यवसायीका अनुसार झिलिमिली बत्तीको गुणस्तर अनुसार ४५ रुपैयाँदेखि १५ हजारसम्म पर्दछन् । प्राय बल्ने–निभ्ने बत्तीको बिक्री बढी हुन्छ । उपभोक्ताले यस्ता झिलिमिली बत्ती घर, बगैँचा, कार्यालय, बिजनेस मल सजाउन प्रयोग गर्छन् । झिलिमिली बत्ती, झालर बत्ती, दियो बत्ती, लाइट, फोटो, स्टिकर, रंगिन बल्ब÷पाइप, लिड जडित फूल, लिडबाट बनेको क्याण्डिल, क्याण्डिल पाइप, पाइप लाइट, लालटिन बल्ब, टेबल बल्ब, डिस्को लाइट, स्टिक लाइट, नेट लाइट, लेजर लाइट लगायत विद्युतीय झिलिमिली 
बत्तीहरूमा पर्दछन् । 
बजारमा गुणस्तर अनुसार झिलिमिली बत्तीहरु ५०÷६० रुपैयाँ देखि तीन हजार सम्म पर्ने व्यवसायीहरु बताउँछन् । विगत केही वर्षयता बिजुली बत्तीको समस्या नहुने भएकाले गाउँगाउँमा समेत झिलिमिली बत्तीको माग बढ्दै गएको छ । महासंघका अनुसार तिहारमा बिक्री हुने इलेक्ट्रिक लाइट ६० प्रतिशत बाहिरी जिल्ला र ४० प्रतिशत काठमाडौं उपत्यकाभित्र खपत हुने गरेको छ ।

प्रतिक्रिया