भर्खरै

मोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माण अन्तिम चरणमा, पुसभित्र सञ्चालनमा आउने

  • प्रकाशित मिति : सोम, कार्तिक २९, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौँ, कात्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका-७ र अर्खाखाँचीको सन्धिखर्कमा  १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र  अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमश ः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । 
 
बुर्तिवाङ-पाउदी अमराई-तम्घास-सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहने छन् । सबस्टेसनका सम्पूणर् उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।
पूर्व-पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजना अन्तर्गतको मोतीपुर-सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टांगिएको छ ।
 
यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर-सन्धीखर्क प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ ।
 
अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या हुने गर्छ । साथै प्राविधिक चुहावट पनि बढ्छ ।
 
 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्न निर्देशन दिए । ‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प झ्याप्प बत्ती गएको भन्दै मलाई सिधै फोन गरी गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौं, त्यसैले सबस्टेसन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत दिनु पर्छ ।’ उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै उनले सबस्टेसन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगहरुलाई चाहिए जति विद्युत दिन सकिने बताए ।
 
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युतको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । कान्तिपुर अनलाइन

प्रतिक्रिया