भर्खरै

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो तर निगमले नघटाउने अडान

  • प्रकाशित मिति : शुक्र, मंसिर १७, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौँ, मंसिर । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेपछि भारतले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतमा मूल्य घटाएपछि भारतीय आयल कर्पोरेसनले नेपाललाई पनि पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । तर निगमले धेरै नोक्सानी भएको भन्दै नेपालमा मूल्य नघटाउने निर्णय गरेको छ ।
  भारतबाट निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको निगमले निकालेको विज्ञप्तीमा उल्लेख छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेपछि पेट्रोल÷डिजेलमा सामान्य घटेको छ । तर, ग्यासको मूल्य झन् बढेर आएको निगमले जनाएको छ । निगमको ‘समग्रमा हेर्दा १५ दिनको नोक्सानी करिब २ अर्ब रुपैयाँ छ । नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने र हाल आइओसीले पठाएको नयाँ मूल्य अनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ घाटा यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी रहेको छ । 
हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।
बिक्री वितरणको आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । यस्तै, ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा छ । ‘ती सबै जोड्दा १५ दिनको नोक्सानी १ अर्ब ९७ करोड ६७ लाख देखिन्छ । 

प्रतिक्रिया