खपत बढाउन प्राधिकरणको अल्पकालीन र दीर्घकालीन योजना, औद्योगिक क्षेत्रहरुमा कुलमानको चासो

  • प्रकाशित मिति : आइत, मंसिर १९, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १९ मंसिर । उत्पादित विद्युत स्वदेशमा नै खपत बढाउन केही समय यता नेपाल विद्युत प्राधिकरणले चासो दिएको छ । खपत बढाउन कै निम्ती विद्युत महसुल समायोजन देखि विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन र इनडक्सन चुलो सम्मका अभियन चलिरहेको छ । यस सँगै नेपाल विद्युत प्राधिकरणमा पुन नियुक्ती पाएका कुलमान घिसिङको नजर औद्योगिक क्षेत्रसम्ममा पुगेको छ ।  
 
उत्पादित विद्युत खेर गईरहेको अवस्थामा विद्युत खपत बढाउने अभियान अन्र्तगत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विभिन्न औद्योगिक क्षेत्रहरुमा भ्रमण गर्दै उद्योगहरुलाई आवश्यक पर्ने विद्युत उपलब्धता गराउर्दै आएका थिए । सोही अभियान अन्र्तगत घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको भ्रमण र उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी विद्युत मागको हालको अवस्था र भविष्यको अवश्यकताका विषयमा जानकारी लिएका छन् ।
 
सञ्चालमा रहेका सबस्टेसन र उद्योगहरूको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरूलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत दिन सकिने देखिएको बताए । बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले विद्युतको माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायतका क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले व्यापक रूपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको उल्लेख गरे
प्राधिकरणले मुख्य रूपमा उद्योगहरूलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ ।  प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ । 
 
सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकाले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिनेछ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सबस्टेसन बनाउन लागिएको छ ।
उद्योगलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचना निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताए । 
 
सञ्चालमा रहेका सबस्टेसन र उद्योगहरूको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत दिन सक्ने देखिएको बताए । 
उद्योगले  हाल १६ एमभिए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागे जति विद्युत दिन सकिने छ ।
अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत आपूर्ति दिन सकिने छ । हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ ।  उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत दिन सकिने छ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ ।
 
बाराको सियरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) लाई तत्काल विद्युत दिन सकिने छ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ । 
कार्यक्रममा उद्योगी व्यवसायीले विद्युत् महसुलम महँगो भएकाले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङलगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरे ।

प्रतिक्रिया