भर्खरै

रसुवागढी आयोजनाको निर्माणले गति लियो

  • प्रकाशित मिति : सोम, पौष ५, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं । रसुवास्थित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माणले गति लिएको छ । आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएकाले निर्माणले गति लिएको हो ।
 
अहिले आयोजनामा हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य धमाधम भइरहेको प्रवर्द्धक रसुवागढी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए । उनका अनुसार कोरोना (कोभिड–१९) महामारी फैलिएपछि भारत गएको इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार फर्किएर काम गरिरहेको छ ।
 
‘इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रो फर्किएर आयोजना स्थलमा काम गरिरहेको छ,’ उनले भने, ‘उसले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ ।’ उनले भोइथ हाइड्रोका प्राविधिक तथा कामदार छठ पर्वपछि फर्किएर आयोजनामा खटिएको बताए ।
 
कोरोना कालमा इलेक्ट्रोमेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो । अहिले आयोजनामा जडान हुने इलेकट्रोमेकानिकलतर्फका ९९ प्रतिशत उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । जडान कार्य पनि भइरहेको छ ।
 
नेपालमा लकडाउन सुरु भएपछि भोइथ हाइड्रोका प्रविधिक तथा कामदार भारत गएका थिए । उनीहरू गएर लामो समयसम्म नफर्किएपछि डेढ वर्षसम्म काम रोकिएको थियो । डेढ वर्षपछि गत कात्तिक अन्त्यमा उनीहरू फर्किएर फेरि आयोजनामा काम गरिरहेका छन् ।
 
यस्तै, हाइड्रोमेकानिकलतर्फको  उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिलको काम पनि अन्तिम चरणमा पुगेको छ । सिभिल ठेकेदार कम्पनीका चीन गएका कामदार फर्किन नसकेपछि नेपाली कामदार खटाएर आयोजनाको निर्माण जारी राखिएको थियो । सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम आगामी चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ ।
 
यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका छ । नेपाल विद्युत प्राधिकरणले पनि चाँडै आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेको छ । आयोजनाको करिब ८३ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
 
८ वर्षमा पनि आयोजना निर्माणकै चरणमा रहेकाले चाँडै सम्पन्न गर्नुपर्ने दवाव प्रवद्र्धक कम्पनीलाई छ । लट–१ ९सिभिल तथा हाइड्रो मेकानिकल० को काम गर्न २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनसँग ठेक्का सम्झौता भएको थियो । उसले काम सुरु गरेकै ८ वर्ष भइसकेको छ ।
 
यस्तै, लट–२ (इलेक्ट्रो मेकानिकल) को काम गर्न २०७१ साउन १५ गते भारतीय कम्पनी भोइथ हाइड्रो प्रालिसँग सम्झौता भएको थियो । यसले काम सुरु गरेको पनि साढे ७ वर्ष भइसकेको छ ।
 
बाढी–पहिरो, भूकम्प, भारतले गरेको नाकाबन्दी जस्ता प्राकृतिक प्रकोपबाट आयोजना प्रभावित हुँदा विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित हुँदै आएको छ ।  पछिल्लो २ वर्ष यता विश्वव्यापिरूपमा फैलिएको कोरोना महामामारीका कारण पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो । ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 41 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago