भर्खरै

आठ महिनाभित्र ४० बिजुली बस ल्याउँदै साझा

  • प्रकाशित मिति : बुध, पौष ७, २०७८
  • -
title

काठमाडौं, पुस । साझा यातायातले पहिलो लटमा परीक्षणका लागि बिजुली बस ल्याउने भएको छ। परीक्षणका लागि तीनवटा बिजुली बस ल्याइने साझा यातायातका सुपरभाइजर हरिराम मिश्रले जानकारी दिए । 
साझाले गत चैत १३ गते बोलपत्र आह्वान गर्दै ४० वटा बिजुली बस किन्न प्रकृयाअघि बढाएको थियो । बस किन्ने टेण्डर आह्वानमा ९ चिनियाँ कम्पनीको बोलपत्र परेकोमा सिएचपिसी कम्पनीले टेण्डर पाएको छ । आर्थिक तथा प्राविधिक मूल्यांकन गर्दा सिएचपिसी कम्पनी छनोट भएको हो ।
 
प्राविधिक स्पेसिफिकेसनहरु मिलेको र कम मूल्य कबोल गरेकाले सिएचटिसीको प्रस्ताव स्वीकृत गरिएको साझाले जानकारी दिएको छ ।  
उक्त कम्पनीमार्फत बस ल्याउनका लागि एक महिना अगाडि नै एलसी खुला गरिसकिएको छ । 
साझाका सञ्चालक भुषण तुलाधरका अनुसार तीन वटा बस ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छन्÷छैनन् परीक्षण गरिनेछ । ठीक भएमा आठ महिनापछि थप ३७ वटा बस ल्याइने गरी कम्पनीसँग सम्झौता भएको साझाका सुपरभाइजर मिश्र बताउँछन् । बसहरु कम्पनीले पाँच वर्षसम्म बस मर्मतसम्भार समेत गर्नेछ । 
सम्झौताअनुसार साझाले ४०बिजुली बस र २० वटा चार्जरका लागि ४५ करोड ११ लाख नेपाली रुपैयाँ बढी र तालिम, पाँच वर्षको मर्मतसम्भारसहित स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ सिएचपिसी कम्पनीलाई दिनुपर्नेछ । 
२६ सिट क्षमताका बस अपांगमैत्री हुनेछन्। यी बस एक पटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु राखेर २०० किलोमिटर गुड्न सक्ने उल्लेख गरिएको छ । 
४० बसहरुसँगै साझाले यीभन्दा ठूला चार बिजुली बस खरिद प्रकृया अगाडि बढाएको बताएको छ । साथै सरकार र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न अनुसन्धान भइरहेको सञ्चालक तुलाधरको भनाई छ । सार्वजनिक यातायातको विद्युतीकरणले आयातित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी उर्जाले विस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा पुग्ने साझाको विश्वास छ । 
 
अर्कोतिर बिजुली बसले वायुप्रदुषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुर्याउने तुलाधर बताउँछन् । जसकारण पनि साझाले आउँदा दिनमा विद्युतीय बसको प्रयोग बढाउँदै लैजाने उनको जोड छ । 
संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा काठमाडौंसँगै देशका अन्य स्थानमा समेत बिजुली बस विस्तार गरिने साझाको भनाई छ । सेतोपाटी डटकम

प्रतिक्रिया