भर्खरै

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

  • प्रकाशित मिति : आइत, पौष ११, २०७८
  • -
title

जाजरकोट, पुस । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ ।  स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ ।  टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीबाट जगदुल्ला गाउँपालिका–१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले जानकारी दिए ।
 
आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको उनले बताए ।
 
आयोजनाको वातावरणीय अध्ययनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरी यसको सार्वजनिक सुनवाइ बाँधस्थल (जगदुल्ला गाउँपलिका–४ माझगाउँ), सुक्खा तटीय क्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत्गृहस्थल (मुड्केचुला गाउँपालिका–४ इल) मा यही पुस २, ४ र ६ गते सार्वजानिक सुनुवाइ गरिसकेको छ । आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन आगामी माघभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
 
आयोजनाको विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई भवन निर्माण गरिएका छन् । विद्युत् खरिद बिक्री तथा सम्झौताका लागि आवश्यक सहकार्य काम जारी  छ । वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।
 
 आयोजनास्थलसम्म जान र आउनका लागि इल, निलदहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ । जाजरकोट–डोल्पा सडकखण्डको त्रिवणीबाट इलसम्मको ११  र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल सुरु गर्न लागिएको छ ।
 
वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाई आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने आयोजनाको दाबी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए । विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसमक्ष प्रतिवेदन पेश गर्नुका साथै स्वीकृत गरेर खरिद बिक्रीको सम्झौतासमेत तीन महिनाभित्र गरिसक्ने लक्ष्य रहेको छ । रासस

प्रतिक्रिया