भर्खरै

वितरण तर्फको विद्युत चुहावट ९.१० प्रतिशतमा झर्यो, सबैभन्दा बढी मधेश प्रदेशमा

  • प्रकाशित मिति : आइत, माघ ९, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, माघ ।  चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणको वितरण तर्फ विद्युत चुहावट गत वर्षको मंसिरसम्मको तुलनामा यस वर्ष २.८२ प्रतिशत विन्दुले घटाएको हो । 
गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ११.९२ प्रतिशत थियो । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको बताए । 
उनका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने लगायतका कारणबाट चुहावट घटेको घिसिङको भनाई छ । 
प्राधिकरणले विद्युत चुहावट रोक्नका लागि थालिएको नियमित अनुगमन तथा कारर्वाहीको अभियानले पनि चुहावट नियन्त्रणमा आइरहेको छ । उनले भने, ‘गर्मी सुरु भएपछि चुहावट केही बढ्न सक्ने भएकोले  यसलाई ध्यान दिंदै चुहावटलाई तोकिएको भन्दा तल झार्ने गरी काम भइरहेको छ ।’
प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्नेे, बन्द मिटर फेर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।  
 
प्राधिकरणले सार्वजनिक गरेको डाटा अनुसार प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको  छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १२.९९ प्रतिशत छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । 
 
सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो । 
 
बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९.८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो ।
प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो । 
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो । 
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ। अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युत चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो ।
गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ । 
लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो । 
लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वष त्यस केन्द्रको चुहावट १९.९० प्रतिशत थियो । 
कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ ।  
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ । इकागज 

प्रतिक्रिया