भर्खरै

गोरखामा विद्युत चोरी गर्ने ३७ ग्राहकलाई कारर्वाही

  • प्रकाशित मिति : मंगल, माघ ११, २०७८
  • - भीमलाल श्रेष्ठ
title

गोरखा, माघ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले विद्युत चुहावटमा संलग्न ३७ ग्राहकलाई कारर्वाही गरेको छ । 
 
केन्द्रले साउनदेखि पुस मसान्तको ६ महिनाको अवधिमा हुकिङ तथा मिटर वाइपास गरी विद्युत चुहावट गर्ने गोरखाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका ३७ ग्राहकहरुलाई कारर्वाही गरेको हो ।  
 
विद्युत प्राधिकरणले पहिलो चरणमा एक अभियान नै चलाएर विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोस्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।
केन्द्रका प्रमुख न्यौपानेका अनुसार कारर्वाहीमा पर्ने ग्राहकहरुमा गोरखा नगरपालिकाका १३ जना, पालुङटार नगरपालिकाका ६ जना, सिरानचोक नगरपालिकाका ४ जना, शहिद लखन गाउँपालिकाका १० जना र गण्डकी गाउँपालिकाका ४ जना ग्राहक गरी ३७ जनालाई पक्राउ गरी नगद जरिवाना गरिएको उनको भनाई छ ।
 
मिटर शिल्ड लगाउने कर्मचारी सीमित मात्रामा रहेकोले कतिपय ठाउँका ग्राहकका घरमा मिटर जडान भएपनि मिटर शिल्ड नभएको र सबै प्राविधिक कर्मचारीसँग शिल्ड नहुने तथा मिटर रिडिङ गर्ने व्यक्तिले यो काम गर्न नमिल्ने भएकोले पनि विद्युतको चुहावट भइरहेको छ । अब चुहावटलाई रोक्नका लागि हरेक स्थानीय निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए । हाल देशभर मिटरको अभाव रहेको जानकारी दिदैं उनले गोरखा जिल्लालाई काठेपोलमुक्त बनाउने अभियानमा लागि परेर काम गरिरहेको समेत बताए । 
 
चुहावटमा संलग्न ग्राहकहरु मध्ये गोरखा नगरपालिकाका १३ जनाबाट रु. २ लाख ३ हजार ४ सय ९४, पालुङ्टार नगरपालिकाका ६ जना ग्राहकबाट ६० हजार ९ सय १०, सिरानचोक गाउँपालिकाका ४ जनाबाट १ लाख १४ हजार ६ सय २ रुपैंया, गण्डकी गाउँपालिकाका ४ जनाबाट १७ हजार २ सय ४६ र शहिद लखन गाउँपालिकाका १० जना ग्राहकबाट १ लाख ४९ हजार ९ सय ५२ गरी कुल ५ लाख ४६ हजार २ सय ४ रुपैंया रकम असुल गरिएको प्राधिकरणले जनाएको छ ।
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार प्राधिकरणको कमजोरीका कारण विद्युत चुहावट बढ्ने गरेको भन्दै यस विषयमा प्राधिकरणले पनि गाउँपालिकासँग समन्वय गरेर काम गर्नुपर्ने बताए । 
 
प्राधिकरणले गर्ने हरेक काम कारर्वाहीमा गाउँपालिका बेखबर भएकोले गाउँपालिकालाई समेत समस्या हुने गरेकोले गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्दा विद्युत चुहावट न्यूनिकरण गर्न सकिने अध्यक्ष थापामगरको भनाई छ । उनले गाउँपालिकाका सबै वडा काठेपोलमुक्त गरी विद्युतीकरण भइसकेको जनाउँदै हरेक ग्राहककले विद्युतको उपयोग गरिसकेवापत् त्यसको महशुल तिर्नुपर्छ भन्ने भावना सबैले राख्नुपर्ने बताए ।  
 
यस्तै सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले गाउँपालिकाले विद्युत चुहावट रोक्नका लागि प्राधिकरणसँग सहकार्य गरेर काम गर्ने बताए । विद्युत चुहावटमा जतिपनि संलग्न छन् ती ग्राहकहरुलाई आगामी दिनमा जनचेतनामूलक कार्यक्रमहरु गरेर चेतना दिने काममा गाउँपालिकाले सहयोग गर्ने उनको भनाई छ । 
 
त्यस्तै गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले चुहावटमा गरी कारर्वाहीमा परेको भन्ने विषयमा बेखबर रहेको बताए । उनले प्राधिकरणबाट चुहावट भएको भन्ने कुनैपनि आधिकारिक सन्देश नआएको प्रति गुनासो राख्दै प्राधिकरणबाट यस्तो विषयमा  गाउँपालिकालाई पनि समन्वय गरेर काम गर्ने अवसर दिनुपर्ने उनको भनाई छ । प्राधिकरणबाट आधिकारिक जानकारी प्राप्त भएमा गाउँपालिकाले पनि चुहावट रोक्ने कार्यमा शतप्रतिशत सहयोग गर्ने अध्यक्षले प्रतिबद्धता जनाएका छन् । प्राधिकरण र गाउँपालिकाबीच समन्वयको अभावका कारण विद्युत चुहावटका समस्याहरु बढ्दै जाने गर्छ ।  

प्रतिक्रिया