लकडाउनको विकल्प खोप

  • प्रकाशित मिति : बुध, माघ १२, २०७८
  • - निरा योञ्जन
title

कोभिडको त्रास बढेसँगै लकडाउन गर्ने रित बस्दै आएको छ । लकडाउननै हाम्रो लागि पहिलो विकल्प बनिरहेको अवस्थामा अब भने लकडाउन गर्नु मुर्खतापूर्ण हुन्छ । किनकी हामीसँग यस भन्दा पहिलेको लहरमा कुनै पनि विकल्प थिएन अब अहिले त हाम्रो लागि लकडाउनको विकल्प बनिसकेको छ खोप । 

खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । सरकारले अब पनि लकडाउन गर्नु भनेको मुर्खतापूर्ण काम हो । खोपलाई भण्डारण गर्ने अनि विकल्पको रुपमा लकडाउन गर्ने भनेको त्यो जत्तिको नचाहिँदो काम केही हुनै सक्दैन । 

वर्तमान अवस्थामा कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप र मास्कको सहि प्रयोगले हो । नेपाल सरकारले अहिलेसम्म धेरै भन्दा धेरैलाई खोप लगाइसक्नु पर्ने थियो । तर, सरकारले अहिले सम्म ४० प्रतिशतसम्म मात्र खोप पु¥याउन सकेको छैन । 
अब त्यो पनि हो कि होइन ? सरकारले भने भन्दा कमले मात्र खोप लगाएको जस्तो देखिन्छ । किनकि धेरैले चाहँदाचाहँदै पनि खोप लगाउन पाएका छैनन् । अहिले पनि लकडाउनको सबैभन्दा उत्तम विकल्प भनेको खोप, खोप अनि खोप हो  । सरकारले धेरै भन्दा धेरै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउनु पर्यो ।  कुनै पनि खोप नलगाएकालाई पहिलो मात्रा । पहिलो लगाएकालाई दोस्रो र दोस्रो पनि लगायकाहरुलाई तेस्रो अर्थात बुस्टर डोज खोप लगाउनु पर्यो । त्यसो भयो भने कसैले पनि लकडाउनका बारेमा सोच्नु पनि पर्दैन र त्यो किसिमको सोच आउँदा पनि आउँदैन । 

त्यसैले पनि लकडाउनको विकल्प भनेको खोप हो । खोप लगाउँदा खोप केन्द्रसम्म पुुग्नुपर्ने बाध्यतालाई हटाएर खोप लगाउन सरकार समुदायसम्म पुग्नु पर्दछ । त्यसो गर्दा त्यहाँ लामो लाइन पनि हुँदैन । भिड पनि हुँदैन । एउटा गाउँमा अथवा वडा एक दिन गर्दै लगाउँदै गयो भने धेरै ठाउँमा सजिलै खोप लगाउन सकिन्छ । खोपलाई अहिलेको जस्तो सीमित केन्द्रमा राखेर खोपका लागि दिनभर लाइन लाग्नुपर्ने अनि खोप लिन जाँदा नै कोरोना सर्ने जोखिम हटाउँदै अभियानका रुपमा गाउँ गाउँमा पुग्नुपर्ने हुन्छ । 

अहिले एउटा अस्पतालमा, स्वास्थ्य संस्थामा सीमित गरेर नागरिकलाई दिनभर हिँडेर आएर खोप लगाउनु पर्ने, राति लज अथवा अरुकोमा बसेर खोप लिनुपर्ने भयो भने खोप लिनेको मात्रा बढ्दैन । त्यसकारण खोप लगाउन गाउँमा नै जानुपर्ने हुन्छ । गाउँ गाउँमा गएर खोप नलगाएकालाई पहिलो मात्रा, पहिलो लगाएकालाई दोस्रो तथा दोस्रो लगाएकालाई बुस्टर डोज दिने व्यवस्था मिलाउनु पर्छ । र, यसरी गाउँ, गाउँमा खोपको कार्यक्रम चलाएर त्यसलाई पूर्ण नहुन्जेलसम्म अगाडि बढाउनुपर्दछ । धेरै खोपहरु २० डिग्री भन्दा कम तापक्रममा नै राख्न सकिने हुनाले तापक्रम मिलाउनु पर्ने कारणले गाउँमा पुग्न नसकिएको भन्ने कुरालाई मान्न सकिँदैन । २० डिग्री भन्दा कम तापक्रममा राख्नका लागि हामीसँग पहिलेदेखि भएको श्रोत साधन पर्याप्त छ । त्यसकारण प्राविधिक रुपले सजिलोसँग लगाउन सकिने खोप गाउँमा लगाउने योजना बनाउने हो भने ठीक हुन्छ । यदि माइनस ७० डिग्रीमा राख्नुपर्ने खोपहरु छन् भने त्यस्ता खोपलाई गाउँमा राख्न सकिँदैन त्यसकारण त्यस्ता खोपलाई भने पोखरा, विराटनगर, धरान, वीरगञ्ज जस्ता ठूला शहरमा मात्र लगाउनु पर्यो । 

यति थोरै जनसङ्ख्यालाई खोप लगाएर सपिङ मल, सिनेमा हल, रेष्टुराँ, तथा सरकारले दिने सार्वजनिक सेवाबाट वञ्चित गरिने भन्ने कुरो जायज देखिँदैन र मान्य हुँदैन पनि । प्रजातान्त्रिक देश तथा प्रजातान्त्रिक सरकार भएकोले कम्तीमा ५० प्रतिशत नागरिकले खोप दुई मात्रा खोप नलगाइकन यस्तो निर्णय गर्न मिल्दैन । सरकारले खोप नै नदिने अनि सार्वजनिक सेवा दिन्न भन्न मिल्दैन । यसरी तिमीहरुले खोप लगाएनौ अनि सार्वजनिक सेवा दिन्न भनेर खोँचे थाप्न पाइँदैन । 

खोप लगाए पनि मास्क लगाउनु पर्छ । नत्र कसै कसैलाई सङ्क्रमण हुनसक्छ । मास्कको प्रयोग गर्न छोड्नु हुँदैन । मास्कको प्रयोग त अनिवार्य नै गर्नुपर्छ । संक्रमण पुष्टि भएपछि १ सय दिन अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क नलगाई हिँड्नेलाई बरु सेवा दिन्न भन्दा हुन्छ । दण्डित गर्दा हुन्छ । मास्क नलगाई हिँड्नेलाई तुरुन्तै चिट काटेर ५ सय, १ हजार तथा २ हजार रुपैयाँ कति जरिवाना गर्ने हो गर्ने व्यवस्था मिलाउनु पर्छ । 

खोप र मास्कको प्रयोग गरेपछि भने कोरोना विरुद्ध लाग्न धेरै नै प्रभावकारी हुन्छ । यसका साथै ठूलो, ठूलो भेला गर्न प्रतिवन्ध गरिनुपर्छ । यदि भेला गर्ने हो भने त्यस्ता ठाउँमा प्रहरी पठाएर अनिवार्य रुपमा ७२ घण्टा भित्रको पीसीआर जाँचको नतिजा नभइ प्रवेश गर्न दिनु हुँदैन । अन्यथा त्यस्ता भेलामा रोक लगाउनु उचित तथा बुद्धिमानी हुन्छ । त्यसैले सरकारले यस्ता कुराहरुमा हरेक नागरिकहरुलाई सचेत गराउनुपर्छ । 


प्रतिक्रिया