भर्खरै

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

  • प्रकाशित मिति : बिही, माघ १३, २०७८
  • - रासस
title

सिमकोट, माघ । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले  हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो ।
 
 विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए । 
 
करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी  अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो ।
 
पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नगर्दा स्थानीयवासीले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ थियो । विद्युत् कुन ठाउँमा कसरी बिग्रेको हो हालसम्म यसको जानकारी नै नदिइएकाले यस विषयमा उक्त केन्द्रमा सम्पर्क गर्न सम्पर्क गर्न खोज्दा सम्भव भएन ।

प्रतिक्रिया