भर्खरै

चार्जिङ स्टेसन निर्माण ६० प्रतिशत सकियो, लक्ष्यभित्रै सञ्चालनमा ल्याउने प्राधिकरणको दाबी

  • प्रकाशित मिति : शुक्र, माघ १४, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । देशका विभिन्न स्थानमा निर्माणाधीन ५० चार्जिङ स्टेसनको काम ६० प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्ज गर्ने सुविधाका लागि निर्माण गरिरहेका चार्जिङ स्टेसनको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।
 
विद्युतीय सवारी चार्जिङ गर्ने चार्जर राख्ने संरचना तयार भइसकेको आयोजना प्रमुख सागर ज्ञवालीले बताए । उनका अनुसार तयार भइरहेका संरचनामा चार्जर जडान गर्न बाँकी छ ।
 
‘लक्ष्यअनुसार नै चार्जिङ स्टेसन तयार गर्ने गरी ठेकेदारले काम गरिरहेको छ,’ उनले भने, ‘चार्जर अहिलेसम्म आइपुगेको छैन । आएपछि धमाधम जडान गरेर चार्जिङ स्टेसन सञ्चालनका लागि तयार गर्छौं ।’ उनले प्राधिकरणले अघि बढाएका सबै चार्जिङ स्टेसनमा काम भइरहेको बताए ।
 
निर्माणाधीन चार्जिङ स्टेसन अबको ५ महिना (२०७९,असार) भित्र सम्पन्न गरिसक्नु पर्ने तालिका छ । उनले लक्ष्यअनुसार नै सबै चार्जिङ स्टेसनको का सम्पन्न गरेर सञ्चालनमा ल्याउने दाबी गरे । 
 
यी चार्जिङ स्टेसन सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न लगाइएको निशेधाज्ञाको प्रभावले प्रक्रियामा भएको ढिलाइका कारण समय लम्बिन गएको छ ।विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजना अन्तर्गत उपत्यकासहित देशभरमा यी चार्जिङ स्टेसनहरू निर्माण भइरहेका हुन् ।
 
५० वटै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्कासम्झौता भएको हो । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ ।
 
चार्जिङ स्टेसनमा छिटो चार्ज  गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।
 
३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै चार्जिङ स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
 
चार्जिङ स्टेसन निर्माण गर्न एसियाली विकास बैंकले ऋण लगानी गरेको छ । ५० मध्ये उपत्यकामा ७ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । यसबाहेक पनि बागमति प्रदेशमा मात्रै १३ वटा चार्जिङ स्टेसन निर्माणको काम अघि बढेको छ । उपत्यका बाहिर मलेखु, बिपि राजमार्ग (सिन्धुली), हेटौंडा, भरतपुर, मुङलिन, कुरिनटार र बनेपामा चार्जिङ स्टेसन बन्दैछन् । 
 
यस्तै, प्रदेश–१ मा भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा गरी ५ स्थानमा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । प्रदेश–२ मा वीरगन्ज, सिमारा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजबिराज गरी ७ स्थानमा चार्जिङ स्टेसन निर्माण  हुँदैछन् ।
 
गण्डकी प्रदेशमा पनि ६ वटा चार्जिङ स्टेसन निर्माणको काम अघि बढेको प्राधिकरणले जनाएको छ । यो प्रदेशमा नवलपुर (पूर्वि नवलपरासी), दमौली, स्याङ्जामा १÷१ वटा तथा पोखरामा ३ वटा चार्जिङ स्टेसन निर्माण हुने प्राधिकरणले जनाएको छ ।
 
लुम्बिनी प्रदेश, कर्णाली र सूदुर पश्चिम प्रदेशमा क्रमशः ८, १ र ३ वटा गरी १२ चार्जिङ स्टेसन निर्माण हुनेछन् । लुम्बिनीमा नेपालगन्ज, भालुवाङ, बुटवल (३), दाङ र बर्दघाट÷ सुनवल (२) मा चार्जिङ स्टेसनको संरचना राखिनेछ । कर्णालीको सुर्खेतमा एउटा तथा सूदुरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण हुँदैछ । ऊर्जा खबर

प्रतिक्रिया