निफ्रालाई अन्तर्राष्ट्रिय विद्युत् व्यापार गर्न दिन ऊर्जा मन्त्रालय सकारात्मक

  • प्रकाशित मिति : आइत, माघ १६, २०७८
  • - विद्युत संसार संवाददाता
title

माघ,काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) लाई भारत र बंगलादेशमा विद्युत् बेच्न अनुमति दिने प्रक्रिया अगाडि बढेको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाईं मन्त्रालयले निफ्राको उक्त प्रस्तावित फाइलमाथिको छलफल प्रक्रियालाई तिब्रता दिएको हो । निफ्राले भारतीय र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने प्रस्तावसहित मन्त्रालयमा फाइल पठाएको थियो । तर, यो फाइल अहिलेसम्म अगाडि बढेको थिएन ।
 
मन्त्रालयका अनुसार उक्त फाइलमाथि अहिले छलफल हुन थालेको छ । नेपालको विद्युत् छिमेकी मुलुकमा बेच्न सक्ने क्षमता अध्ययन गरेर मन्त्रालय निफ्रालाई विदेशी कम्पनीहरुको सहकार्यमा ‘विद्युत् व्यापार कम्पनी’ खोल्न दिने विषयमा सकारात्मक रहेको बताइएको छ । 
 
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार अहिले यो फाइलको विषयमा मन्त्रालयमा छलफल चल्न थालेको छ । ‘मन्त्रालय निफ्रालाई विद्युत् व्यापार गर्न दिन सकारात्मक छ । अहिले यो फाइलको बारेमा सकारात्मक भएर मन्त्रालयमा छलफल भइरहेको छ’, उनले भने ।
 
मन्त्रालयले कार्यविधि र त्योसँग सम्बन्धित विषयमा काजगपत्र तयार गर्ने प्रक्रिया थालेको भेटवालले जानकारी दिए । ‘मन्त्रालयले अहिले विद्युत् प्राधिकरण र सम्बन्धित महाशाखामा छलफल गरिरहेको छ,’ उनले भने । 
 
निफ्राले प्रस्ताव गरेको कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । विदेशी कम्पनीहरूको ३६, निफ्राको १५ देखि २०, सरकार तथा नेपाल विद्युत् प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको छ । आर्थिक अभियान

प्रतिक्रिया