भर्खरै

भरतपुरमा उज्यालो सहर अभियान

  • प्रकाशित मिति : बिही, माघ २०, २०७८
  • - रासस
title

भरतपुर, माघ । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान  सुरु गरिएको छ ।  भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।
 
अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३  बत्ती जडान गरिने छ । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित  रु ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो 
 
अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उनले भने, “सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई  उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।” महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ । 
 उनले भने, “अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिर्वाय थियो ।” अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उनले बताए । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।
 
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु  गरिएको जानकारी दिए ।  हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । 
 
चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलव १३ किमीम ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किमीमा सडक खण्डमा ५८  सडक बत्ती जडान हुने छ  । यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलव ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलव २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । अन्य क्षेत्रमा क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने उनको भनाइ छ । रासस

प्रतिक्रिया