टेम्केमैयुङमा विद्युतले ल्यायो परिवर्तन, स्थानीय भन्छन् “सपना जस्तो लागिरहेको छ”

  • प्रकाशित मिति : शुक्र, माघ २१, २०७८
  • - रासस
title

भोजपुर, २१ माघ । भौगोलिक विकटता रहेको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । 
 
दुर्गम स्थानका बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका हुन् । एक सय ७३ दशमलब ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युतको पहुँचमा छन् । यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रुपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् पु¥याएपछि उनीहरुमा उत्साह थपिएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा निकै ठूलो लगानीमा विद्युत् सेवा विस्तार भएको हो ।
 
वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकीमा नै परिवर्तन आएको बताए । “आफ्नो ठाउँमा विद्युत् आएकामा आफूलाई सपना जस्तो लागेको छ”, उनले भने, “हाम्रो जस्तो जङ्गलको बीचमा रहेको बस्तीमा विद्युत् विस्तार होला भन्ने सोचेको नै थिइन् । गाउँपालिकाको सक्रियतामा घना जङ्गलबाट तार टाँगेर गाउँसम्म विद्युत् आएको छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”
 
विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासी सूचनाको पहुँचमा जोडिएका छन् भने विद्युतीय उपकरणहरुको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएका छन् । स्थानीयवासी नवीन राईले भने, “वास्तवमा अन्य गाउँबस्तीबाट टाढा रहेको यो स्थानमा विद्युत् आउँदा हामी निकै हर्षित छौँ । अहिले हाम्रो जस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । यसले गर्दा हामीलाई सूचनाको पहुचमा जोडिन सहज भएको छ ।”
 
गाउँपालिका केन्द्र तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नु पर्ने उनले बताए । “हाम्रो ठाउँ निकै नै दुर्गम स्थानमा छ । हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । स्थानीय सरकार आएपछि हामीले केही विकासको अनुभूति गर्न पाएका छौँ”, राईले भने । यहाँका स्थानीयवासी अहिले इन्टरनेट, टेलिभिजन तथा सूचनाको पहुँचमा जोडिएका छन् भने उनीहरुको दैनिक क्रियाकलापसमेत फेरिएको छ । 
 
वर्षौंदेखि अँध्यारोमा बस्दै आएका अर्को दुर्गम स्थान वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरुले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेको छन् भने विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा समेत जोडिएका छन् । विद्युत्ले दैनिक जीवन गुजारा गर्न सहजता भएको स्थानीयवासी फुर्तेन्जी शेर्पाले बताए । उनले भने, “विद्युत्ले हाम्रो दैनिक जीवनयापनमा फेरबदल आएको छ । विद्युतीय मिल चलाएका छौँ । जाडोमा हिटर चलाएका छौँ । फर्निचर उद्योगहरु चलाएका छौँ । उज्यालोमा बस्न पाएका छौँ । अहिले हामीलाई धेरै सहज भएको छ ।”
 
टेम्केमैयुङ गाउँपालिका २०७७ सालको कात्तिक महिनामा प्रदेश नं १ मा नै पहिलो उज्यालो स्थानीय तह घोषणा भइसकेको छ । योजनाबद्ध विकासमा ध्यान दिएकाले उज्यालो गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाको भनाइ छ । स्थानीयवासीलाई सूचना तथा सञ्चारको पहुँचमा जोड्न सके उनीहरुको चेतनामा विकास गर्न सकिने भएकाले विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । उनले भने, “म निर्वाचित भएर आएदेखि नै विद्युत् विस्तारलाई पहिलो प्राथमिकतामा राखेर कामको थालनी गरेको थिए । हाम्रा सबै नागरिक अहिले विद्युतको पहुँचमा छन् । खास गरेर मानिसहरुलाई सूचनाको पहुचमा जोड्न सके उनीहरुको चेतनास्तरलाई विकास गर्न सकिने रहेछ । हाम्रो गाउँपालिका प्रदेश १ मा नै उज्यालो पालिका बन्ने पहिलो स्थानीय तह पनि हो ।”
 
गाउँपालिकालाई नमूना बनाउने गरी सडक, पर्यटन, कृषिसँगै स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाको सीमित स्रोतमा आवश्यक मापदण्ड अनुसारको सडक विस्तारमा जोड दिएको उनले बताए । “गाउँबस्तीलाई सहज हुने गरी सीमित स्रोतमा उपलब्धिमूलक काम गर्ने योजनाअनुसार सडक विस्तारमा जोड दिएको छु,” अध्यक्ष राईले भने, “जनताले विकासको महसुस गर्ने गरी काम गरेको छु । हाम्रो गाउँपालिकामा महत्वपूर्ण ठूला सडकसँगै कृषि सडक विस्तार भएको छ । यसको थप स्तरोन्नति गर्ने अबको योजना छ ।”

प्रतिक्रिया