भर्खरै

बिजुली मर्मत गर्ने क्रममा विद्युतको पोलबाट खसेर एकको मृत्यु

  • प्रकाशित मिति : सोम, माघ २४, २०७८
  • -
title

ताप्लेजुङ, माघ । ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो ।
 
प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् । लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएको थियो । गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि तत्काल अस्पताल पु¥याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया