भर्खरै

इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय

  • प्रकाशित मिति : मंगल, माघ २५, २०७८
  • - रासस
title

गलेश्वर, २५ माघ । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान कार्य सुरु भएको छ । 
बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान भएपछि राउटरको स्विच अन गरेर बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जडान कार्यको औपचारिक उद्घाटन गर्नुभयो ।
 
विद्यालयमा आवश्यक पर्ने इमेल तथा इन्टरनेट प्रयोगका लागि दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा जोडिएको इन्टरनेटले सहज हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ । 
 
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको समयमा भर्चुअल माध्यमबाट विद्यार्थीहरुलाई दैनिक रुपमा कक्षा लिन र शिक्षकलाई पढाउनका लागि अहिले जोडिएको इन्टरनेटले सहज हुने उहाँले बताउनुभयो । इन्टरनेट जडान कार्यले शिक्षक तथा विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा धेरै सहज हुने अपेक्षासमेत गरिएको छ । 
 
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषले ब्रोडब्यान्ड इन्टरनेट सेवाको स्तरोन्नति तथा विस्तार गर्ने कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समझदारी गरेर सामुदायिक विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
 
प्राधिकरणले बेनी नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाभित्रका ४२ वटा विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान खर्चसहित २ वर्षको २८ हजार रुपैयाँ पनि प्राधिकरणले उपलब्ध गराएको उहाँको भनाइ छ ।
 
नगरपालिका क्षेत्रका ४२ वटै विद्यालयमा एक महिनाभित्रै इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको टेकमाइन्डस नेटवर्कका जोनल इन्चार्ज सुवास श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणसँगको सहकार्यमा बेनी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा तीव्र गतिको इन्टरनेट सुविधा हामीले दिन लागेका छौँ ।” इन्टरनेट जडानपछि सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको सिकाइ प्रभावकारी हुने जनाइएको छ । पछिल्लो समय सबैको हातहातमा स्मार्ट फोन पुगेपछि सबैलाई इन्टरनेट सेवा अपरिहार्य जस्तै बनेको छ । 
 
बेनी नगरपालिका क्षेत्रभित्र रत्नेचौरमा तीन, ज्यामरुककोटमा ६, भकिम्लीमा ६, सिङ्गामा तीन, पुलाचौरमा १०, अर्थुङ्गेमा तीन, बेनीमा एक, घतानका सात र पात्लेखेतका तीनवटासहित कूल ४२ वटा विद्यालयहरुमा इन्टरनेट जडान गर्ने कार्यको सुरुआती दिनमा बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट सेवा जोडिएको हो । इन्टरनेट जडानपछि विद्यार्थीलाई स्वेच्छिक अध्ययनमा पनि सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् । 

प्रतिक्रिया