भर्खरै

बन्दीपुर केबलकारको टावर जडान सुरु

  • प्रकाशित मिति : मंगल, फागुन १०, २०७८
  • - रासस
title

दमौली, १० फागुन । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो । 
 
बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ । “तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छौ, अहिले धमाधम काम भइरहेको छ”, उनले भने । 
 
केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ । बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताउनुभयो । उहाँका अनुसार तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ । “कोभिडको प्रभावका कारण परियोजनाको काममा ढिलासुस्ती भयो, कोभिडको जोखिम कम हुँदै गएकाले समग्र कामलाई पनि तीव्रता दिएका छौँ”, उनले भने। 
 
लिमिटेडले होटल र केबलकारको स्तरोन्नति गरेको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडी केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । 
 
शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए । 
 
कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 
 
कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रोजोन सञ्चालनमा ल्याउने भएको छ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । 
 
यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । 
 
बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । 
 
आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago