भर्खरै

सबै वडा जोडिए राष्ट्रिय प्रसारण लाइनमा

  • प्रकाशित मिति : आइत, फागुन २२, २०७८
  • - विद्युत संसार
title

दैलेख, २२ फागुन । जिल्लाको भगवतीमाई गाउँपालिकाका सबै वडा विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । दुई वर्षअघि गाउँपालिकाको केन्द्रमा पुर्याइएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छवटै वडामा विस्तार गरिसकिएको सो गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।
 
उनले गाउँपालिकामा रहेका सात वडामध्ये छवटामा राष्ट्रिय प्रसारण लाइन जोडिएको र एउटा वडामा नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र दैलेखमार्फत ठेक्का भएर काम भइरहेको बताए । उनले भने, “हामीले सामुदायिक विद्युतीकरण र गाउँपालिकाको सहलगानीमा छवटा वडा र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा राष्ट्रिय प्रसारण लाइन जडान गरेका हौँ ।”
 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले विद्युत् विस्तारको काम सकिएसँगै उपभोक्ताको माग अनुसार ट्रान्समिटर थप्ने र मिटर जडान गर्ने जानकारी दिए । भगवतीमाई गाउँपालिकामा निर्माण भएका साना जलविद्युत् आयोजना बन्द हुँदा त्यस क्षेत्रका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका थिए । अब गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार भएसँगै स्थानीय बासिन्दा खुसी भएका छन् । भगवतीमाई गाउँपालिका–१ का प्रेमबहादुर थापाले विद्युतको केन्द्रीय प्रसारण लाइन सबै वडामा जोडिएसँगै यस क्षेत्रमा उद्योग स्थापनाको बाटो खुलेको बताए ।
 
गोरखापत्र अनलाईनबाट

प्रतिक्रिया