भर्खरै

पछिल्लो वर्षमा विद्युतीय सामग्री आयातमा भारी वृद्धि

  • प्रकाशित मिति : शुक्र, चैत ४, २०७८
  • - भीमलाल श्रेष्ठ
title

चालु आर्थिक वर्षको सात महिनामा विद्युतीय सामग्री आयातमा मात्रै व्यापार घाटा ७६ अर्ब

काठमाण्डौ, चैत । मुलुकमा विद्युतीय सामग्री, मेसिनरी र उपकरणहरु केही वर्षदेखि आयात बढ्दै गएको पाइएको छ । भन्सार विभाग उपलब्ध गराएको तथ्याङ्क अनुसार पनि गएको पाँच आर्थिक वर्षमा हरेक वर्ष व्यापार घाटा बढ्दो छ भने निर्यातको अवस्था घढ्दो छ ।
 
कोरोना महामारी पश्चात् पनि अघिल्लो आर्थिक वर्षहरुको तुलनामा चालु आर्थिक वर्ष २०७८/०७९ सकिन पाँच महिना बाँकी रहँदै माघ मसान्त सम्म ७६ अर्ब ५८ करोड २३ लाख बराबरको सामग्री आयात भएको छ भने सोही समयमा २२ करोड १२ लाख बराबरको सामग्री निर्यात भएको छ । यसरी हेर्दा मुलुकमा विद्युतीय सामग्री मेसिनरी र उपकरण अन्तर्गत व्यापार घाटा ७६ अर्ब ३६ करोड १० लाख छ । तथ्याङ्क अनुसार मेसिनरी उपकरण तथा सामग्री, विद्युतीय सामग्री तथा उपकरणले व्यापार घाटाको ठूलो हिस्सा ओगटेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । 
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा रु एक खर्ब सात अर्ब १० करोड आठ लाख बराबरको आयात र सोही अवधिमा करीब रु २७ करोड ५२ लाख बराबरको मुलुकमा विद्युतीय सामग्री मेसिनरी र उपकरणहरु निर्यात भएको छ ।
 
 
आर्थिक वर्ष २०७४/०७५ मा ७८ अर्ब हारहारीमा भइरहेको आयात कोरोना महामारीको अवस्थामा पनि हरेक आर्थिक वर्षहरुमा आयात बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७४/०७५ मा ८० करोड हाराहारीमा सामग्री निर्यात हुँदा आर्थिक वर्ष २०७७/०७८ मा २७ करोडमा खुम्चिन पुगेको छ यो नेपालका लागि निराशाजनक मान्न सकिन्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा ९२ अर्ब हाराहारीमा आयात भएको छ भने सोही समयमा २५ करोड हाराहारीमा निर्यात भएको छ । 
 
त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आवको तुलनामा केही घटेर ८२ अर्ब हाराहारीमा आयात भएको छ सोही समयमा १६ करोड हारहारीमा निर्यात भएको छ । सो समयमा कोरोना महामारीको प्रभाव पनि देखिए पनि आर्थिक वर्ष २०७७/०७८ मा भने निर्यातको तुलनामा आयात नगन्य रुपमा वृद्धि भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । 
 
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको मुलुकमा विद्युतीय सामग्री मेसिनरी र उपकरणहरुको आयात हुने गरेको छ । नेपालमा लोडसेडिङ अन्त्य सँगै विद्युतीय सामग्रीको प्रयोगमा अत्याधिक वृद्धि हुँदै आएको छ । नेपाली उपभोक्ताले विद्युतीय सामग्री प्रयोगमा वृद्धि भएसँगै नेपालमा आवश्यक  सामग्री उत्पादन हुन नसक्दा आयात बढ्दै गएको हो । नेपालमा इलेक्ट्रिक तर्फ हाउस वायरिङ्ग केबुल र ट्रान्सफर्मरमा आत्मनिर्भर बनेको भएपनि अन्य इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरु आयातमा नै निर्भर हुनुपर्ने अवस्था छ । 
 
चालु आर्थिक वर्षको सात महिनामा सबै क्षेत्रको वैदेशिक व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले तथ्यांक अनुसार सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको विदेशी वस्तु नेपाल आयात भएको छ भने नेपालबाट जम्मा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । सात महिनामा आयात ४२ दशमलव ७८ प्रतिशतले र ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यात वृद्धि भएको हो । तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
 
विद्युतीय सामग्रीको आयात वर्षेनी बढ्दै जादा नेपालबाट अरबौं रुपैयाँ विदेशीने क्रम बढ्दो रहेको छ । यसले देशको आर्थिक समृद्धिमा बाधा पुग्ने देखिन्छ । स्वदेशी उद्योगहरुले झन्झटिलो सार्वजनिक खरिद ऐन कै कारण नेपालमा उत्पादनमा कमी आएको र उत्पादन गर्ने सामान महँगो हुनुका गएकोले विदेशी सामानको आयात बढेको उद्योगीहरुको गुनासो रहेको छ ।    
 
यता नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन् ।
 
आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । 
 
देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भएकोले यसलाई समाधान गर्न बाध्यकारी परिस्थिति सिर्जना भएकोले केही वस्तुको आयातमा मार्जिन राखेको र यस्तो अवस्थाले भन्सार प्रभावित पनि यो सधैँका लागि नराखिएको मन्त्री शर्माले बताए ।

प्रतिक्रिया