विद्युतको गुणस्तर बढाउन पूर्वाधार विकासमा प्राधिकरणको प्राथमिकता

  • प्रकाशित मिति : बुध, चैत ९, २०७८
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं ९ चैत । नेपाल विद्युत प्राधिकरणले विद्युतको गुणस्तर बढाउन भैतिक पूर्वाधार विकासमा जोड दिएको छ । ग्राहकलाई गुणस्तरिय तथा भरपर्दो विद्युत उपलब्ध गराउन देशभर कै विद्युत प्रणालीको विकासका लागि प्राधिकरणले प्रसारण लाइन तथा सवस्टेशन निर्माण तथा सुधारमा अग्रसर भएको छ ।
देशमा विद्युत उत्पादनको तुलनामा खपत हुन नसक्दा विद्युत खेरजाने अवस्था सिर्जना भएकोले देशभित्रै बिद्युत खपत बढाउने लक्ष्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ । यसैक्रममा पछिल्ला सातामा नयाँ सवस्टेशन उद्घाटनको क्रम बढ्दो छ । 
 
सोही क्रममा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन गत सोमबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्तरूपमा उद्घाटन गरे ।
 
उद्घाटनका क्रममा मन्त्री भुसालले अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको पनि बताइन् । 
सो सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिने छ । सबस्टेसनमा ३ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।
 
त्यस्तै गत शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको २२०÷१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन गरेका छन् । सो अवसरमा दोलखाको गोगरमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि प्रक्रियामा रहेको कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलायशुक्त आयोजना र ७५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको ठोस काम अगाडि बढाउन सरकारले तयारी थालिएको समेत जानकारी गराए । 
शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०÷१३२ के.भी. सवस्टेशन शनिबार उद्घाटन गरेका थिए । नयाँ खिम्ती सवस्टेशनले तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने विद्युत प्राधिकरणले जनाएको छ । सो क्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै  माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट  जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धी प्राप्त भएको बताए । घिसिङले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट, र दक्षता प्राप्त भएको उल्लेख गरे ।
 
त्यसैगरी गत विहिबार कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण सम्पन्न भएको १३२÷३३÷११ केभी क्षमताको मोतीपुर सवस्टेशनको उद्घाटन ऊर्जा भुसालद्धारा गरिएको प्राधिकरणले जनाएको छ ।  
पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सवस्टेशनमा लगिएको छ । सवस्टेशनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर छन् । सवस्टेशनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गर्नुभएको प्राधिकरणले जनाएको छ । उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थिति रहेको थियो ।
 
त्यस्तै अघिल्लो साता मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणको आयोजनामा कालीगण्डकी करिडोर प्रशारण लाइन अन्तर्गतको सुनवल नगरपालिका वार्ड नम्बर १३ सूर्यबस्तीमा निर्माण भएको न्यु बुटवल–बर्दघाट न्यू बुटवल बर्दघाट २२०÷१३२ के.भी प्रशारण लाइन तथा सबस्टेशनको उद्घाटन गरेका छन् । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो । 
उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।
 
भने सोही साता सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सो सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
मन्त्री भुसालले उद्घाटनका साथ साथै निर्माणधिन जलविद्युत आयोजना लगायत अन्य विद्युतीय संरचनाहरुको अवलोकन र निरिक्षाणलाई प्रथामिकता दिएकी छिन् अघिल्लो सातामात्र धनुषामा रहेको देशकै ठूलो पावर हब ढल्केबर सबस्टेसनको निरिक्षण गरेकी थिईन् ।

प्रतिक्रिया