निर्वाचनको सरगर्मी र कोरोनाको डर

  • प्रकाशित मिति : बुध, चैत ३०, २०७८
  • - विद्युत संसार
title

देशमा यतिखेर बैशाख ३० गते एकै चरणमा हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । २०७४ सालमा सङ्घीयताको कार्यान्वयन स्वरूप नयाँ संवैधानिक व्यवस्था बमोजिम अधिकारसम्पन्न स्थानीय सरकारका लागि तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो । यसको पाँच वर्षे कार्यकाल सकिन लाग्दै गर्दा सरकारले बैशाख ३० लाई एकै पटक निर्वाचन गर्ने गरी तोकेसँगै देशभर निर्वाचन सम्बन्धि गतिविधिहरु सञ्चालन लगायत गाउँ गाउँमा चुनावी चहलपहल बढेको छ ।
 
स्थानीय तह संरचना, जिम्मेवारी तथा अधिकारको हिसाबले विगतका स्थानीय निकायभन्दा अहिलेको निकै फरक र शक्तिशाली रहेको छ । सो हिसाबले पनि राजनैतिक दलहरु मा स्थानीय तहको निर्वाचन महत्वका साथ लिएका छन् । हाल पाँच दलिय गठबन्धनको सरकार सञ्चालन भइरहँदा सो गठबन्धनलाई स्थानीय निर्वाचन सम्म लाने विषयमा दलहरु छलफलमा केन्द्रित भएका छन् भने प्रमुख प्रतिपक्ष एमाले भने पनि निर्वाचनलाई लक्षित गरेर चुनावी कार्यक्रमलाई तीव्रता दिदैं आएको छ ।
 
यसरी गाउँ गाउँमा चुनावी चलहपहल बढिरहेको समयमा केही वर्ष देखि विश्वमा नै समस्याको रुपमा देखिएको कोरोना भाइसरको त्रास भने बढेको छ । कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला परेकाले जनस्वास्थ्यविद्हरुले त्यस्तो सुझाव दिएका हुन् । भारतमा देखिएको ओमिक्रोन एक्स ई भेरिएन्ट ओमिक्रोन भेरियन्टभन्दा १० प्रतिशत बढी फैलिन सक्ने भनिए पनि यसबारे थप अध्ययन भइरहेको बताइएको छ । यस्तै, यूरोपियन मुलुकमा डेल्टा र ओमिक्रोनको सम्मिश्रण ‘हाइब्रिड’ प्रकारको ‘डेल्टाक्रोन’ भेरियन्टका संक्रमित बढिरहेका छन् ।
 
निर्वाचन आयोगले स्थानीय तहका सबै चुनाव केन्द्रमा चुनाव गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गराउन  निर्देशन  दिइसकेको छ । आयोगले निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजर पु¥याउने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चुनावमा सहभागी हुनेलाई अनिवार्य रुपमा खोपको व्यवस्था गर्न निर्देशन दिएको पनि बताउँदै आएको छ यो सकारात्मक विषय पनि हो । 
 
चुनाव नजिकिँदै गर्दा गाउँदेखि शहरसम्म जमघट भेला, पार्टी, समारोह नियमित चलिरहेकाले सबैले सावधानी अपनाउनुपर्ने र संक्रमण दर कम भए पनि विश्वबाट कोरोना नहराएकोले ठूला भेला, प्रचार प्रसार,सभा समारोहमा सहभागी हुने शैलीलाई अब परिवर्तन गर्नुपर्ने जनस्वास्थ्यविद्हरुको सुझाव छ । यसैले गाउँ गाउँमा निर्वाचनको सरगर्मी बढेपनि कोरोनाको क्रास नहटेकाले सबै राजनैतिक दलका नेतृत्वहरु सँगै आम जनता यस तर्फ सचेत र साबधानी रहनु आवश्यक छ ।

प्रतिक्रिया