भर्खरै

विद्युतीय बसको परीक्षण गर्दै साझा यातायात

  • प्रकाशित मिति : सोम, बैशाख ५, २०७९
  • - रासस
title
काठमाडौँ, ५ वैशाख । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी भएको छ । 
 
केही दिन पहिले ल्याइएको तीन बसको पहिले साझा आफैँले परीक्षण गर्ने सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनका अनुसार यातायात व्यवस्था विभागले पनि सञ्चालन पहिले गर्नुपर्ने आवश्यक परीक्षण गर्नेछ । सरकारले कहाँ र कहिले रुट दिन्छ त्यसैका आधारमा बस सञ्चालन गरिने उनले बताए । उनले भने, “अहिले परीक्षणकै लागि नै सञ्चालन गरिनेछ ।” 
 
साझाले हाल सञ्चालन गरिरहेका ठूला बसभन्दा विद्युतीय बस थोरै सानो रहेको कम्पनीले जनाएको छ । यो बसमा २६ सिट रहेको छ र क्षमता १६१ किलोवाट÷आवर रहेको छ । अहिले बससँगै दुई चार्ज आएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । 
 
दिनभर बस गुडाएर राति चार्ज गर्न सकिन्छ । उहाले भने, “राति तीन चार घण्टा चार्ज गरेपछि अर्को दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । बसको लम्बाइ साढे आठ मिटर रहेको छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उहाँले बताउनुभयो । होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तब्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । उनले भने, “अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेका छन् ।”
 
पेट्रोलियम पदार्थका सवारीसाधन जस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमा भन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन) पनि कम छ ।   
 
पेट्रोलियम पदार्थबाट चल्ने बसभन्दा विद्युतीय बसका लागि राम्रो सडक आवश्यक भएकाले उपत्यकाका सबै स्थानमा चलाउन नसकिने हुनसक्ने साझाको अनुमान छ । अहिले उपत्यकाका खाल्डा भएका सबै सडकमा गुडाउन नसकिने हुनसक्ने सञ्चालक सदस्य तुलाधरले बताए । सडक पूरै बिग्रिएमा चलाउन नसकिने भए पनि सानो खाल्डोले फरक नपर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । उनले भने, “अहिलेका लागि दक्षिणकाली जाने सडकमा गुडाउन सकिँदैन । लगनखेल–चक्रपथ वा भक्तपुरको सडकमा चलाउन सकिनेछ ।” 
 
यसअघि पनि सोही कम्पनीको दुई बस काठमाडौँ आएका थिए । सो बस हाल गुण एयरलाइन्सले विमानस्थलमा सञ्चालन गरिरहेको छ । सो बस पहिले सडकमा गुडाएर हेरेर चल्नसक्छ भनेर परीक्षण गरिएको सञ्चालक समिति सदस्य तुलाधरले जानकारी दिए । अहिले बसको ब्याट्रीको क्षमता केही बढाइएको छ । 
 
अहिले तीन बस सञ्चालन गरेर परीक्षण भइरहँदा उता थप बसको पनि निर्माण अघि बढिरहेको छ । सबै ४० वटै बस चार÷पाँच महिनामा आइसक्ने उनले बताए । उनले भने, “बसमा कुनैकुनै कुरामा आवश्यक हुँदा परिवर्तन भए पनि ठूलो परिवर्तन हुँदैन ।” 
 
संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।
 
संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरिएको हो । 
 
सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ । 
 
विगतदेखि नै सार्वजनिक यातायात सञ्चालन गरिरहेको संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमासमेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए । 
 
अघिल्लो सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनःबस खरिद गर्दा कोमार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफलपछि पुनःसाझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो ।
 
देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायात मार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago