भर्खरै

म्याग्दी खोलाको प्रवद्र्धक हाइड्रो भिलेजमा एचआइडिसिएलको २० प्रतिशत लगानी

  • प्रकाशित मिति : सोम, बैशाख २६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । म्याग्दी जिल्लामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्व पूँजी (इक्विटी) लगानी गर्ने भएको छ ।
 
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणाअनुसार एचआइडिसिएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो । लगानी सम्बन्धी सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्या रामेश्वर थापाले हस्ताक्षर गरेका छन् ।
 
एचआइडिसिएलको ११ वर्षको लगानी यात्रामा स्वपूँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । ‘निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि हामी लगानी गर्दै जानेछौं,’ उनले भने, ‘कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौं ।’
 
अब आयोजनामा हाइड्रो भिलेज, एचआइडिसिएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । मलेसियन कम्पनीसँग यसअघि नै पुँजी लगानीका विषयमा सम्झौता भइसकेको छ । एचआइडिसिएलले सुझाए जस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न कम्पनीले तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । साथै, अहिले आयोजनास्थलसम्म पहुँच सडक निर्माणको कार्य भइरहेको कम्पनीको प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए ।
 
धवलागिरि हिमालको आधार शिविर नजिकै निर्माण हुने हुँदा यो आयोजनाले पर्यटकीय महत्त्व पनि बोकेको बताउँदै पोखरेलले भने, ‘हामीले आयोजनास्थलसम्म पुग्ने सडक निर्माण गरिरहेका छौं । साथै, यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार रोजगारीका सम्भावनालाई पनि उच्च प्राथमिकता दिइनेछ, जसबाट स्थानीयबासीको जीवनस्तर माथि उठ्न सकोस् ।’
 
म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो । आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट (३३४ गिगावाट घन्टा) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । 
 
आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर जोडिनेछ । प्राधिकरणसँग गरिएको पिपिए अनुसार कम्पनीले २०८२ साल असोज (३ वर्ष ५ महिना ६ दिन) भित्र विद्युत उत्पादन गरिसक्नुपर्ने हुन्छ । आर्थिकन्यूज

प्रतिक्रिया