भर्खरै

स्थानीय निर्वाचनमा युवाहरुको आकर्षण

  • प्रकाशित मिति : शुक्र, जेठ ६, २०७९
  • - विद्युत संसार
title

काठमाडौं जेठ । लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अद्यावधिक निर्वाचन नै हो । निश्चित समय अवधिमा हुने निर्वाचन र यसबाट आउने परिणामले लोकतन्त्रलाई चलायमान बनाइरहेको हुन्छ । राजनीतिमा युवाको उपस्थितिले पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न आजको आवश्यकतालाई मुल्याङ्कन गर्दै आउने निर्वाचनमा युवाको आकर्षण बढेको पाउन सकिन्छ ।
 
युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । युवाको सक्रिय प्रतिनिधित्व, सहभागिता र परिचालनले राजनीतिमा चलायमान र रूपान्तरणको मार्ग लक्षित गर्छ ।  त्यसैले पनि स्थानीय सरकारमा राम्रो नेतृत्व भयो भने परिवर्तनको अनुभूति जनताले सजिलै गर्न सक्छन् । विकास र समृद्धिको यात्राको सुरुवात गर्न सकिन्छ ।
स्थानीय सरकारले आफ्नो क्षेत्रमा नमुना कार्य गर्न सक्छ । अधिकार र जिम्मेवारीको सँगै स्थानीय निकाय साधन स्रोत सम्पन्न पनि छन् । उपलब्ध स्रोत साधनको समुचित परिचालन गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न पनि स्थानीय तहले भूमिका निर्वाह गर्न सक्छन् । 
 
यसैले युवालाई प्रोत्साहनसँगै नेतृत्व तहमा पुग्दा स्थानीय तह देखि राष्ट्रलाई नै योगदान पुग्न मद्धत हुन्छ । नेपालमा आउँदो बैशाख ३० गते स्थानीय तहको चुनाव हुन लागेको छ । निर्वाचनमा युवा पुस्ताको सक्रियता बढेको देखिन्छ । जसको उदाहरण, काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह, पोखरा महानगरपालिकाको मेयर पदमा युवा लेखक गणेश पौडेलले उम्मेदवारी दिएका छन् ।
 
स्थानीय सरकारको चुनाव घोषणा गर्ना साथ राजनैतिक दलहरूले आफ्नो प्रतिनिधि तय गर्ने र चुनावी योजनाका साथमा जनताको घरदैलो अभियानमा निस्कने कार्ययोजनामा सहभागी भइरहँदा यस्ता कयौँ उदाहरण छन्, जसमा राजनीति दलसँग आबद्ध नभई स्वतन्त्र तर्फ युवापुस्ताको राजनीतिमा अग्रसरता देखिएको छ । यसले युवापुस्ता राजनीति तिर आकर्षित भएको र आफूले सोचेको परिवर्तन गर्न आफै अघि बढेको देखिन्छ । देशले नयाँ पुस्ताको आवश्यकता महशुस गरेको अनुमान लगाउन सकिन्छ । पार्टीहरूले युवाहरूलाई स्थान नदिएको कारण, पुराना पार्टीहरूको फोहोरी खेलका कारण पनि युवाहरू स्वतन्त्ररूपमा उठ्ने बढे छन् । यो सकारात्मक पक्ष पनि हो ।
 
राजनीतिमा र नेतृत्वदायी भूमिकामा युवा सहभागिता उल्लेखनीय नहुनु विडम्बना नै हो । यद्यपी युवाहरू मा जोस हुन्छ जसले जनताको नजिकको सरकार स्थानीय सरकारमा साधन स्रोतको बाँडफाँड, अनुदानको सही सदुपयोग, जनताको आवश्यकता र पालिकाको कालान्तरका लागि विकास योजना बनाउन सक्छ र केही युवाहरू आयो भने धेरैको लागि प्रेरणाको स्रोत हुने छ । युवा पुस्ता नेतृत्व तहमा पुग्दा समाज प्रति बढी जिम्मेवार र जवाफदेही हुन्छ । नयाँ पुस्ता ऊर्जाशील र अहिलेको विश्व परिवेशप्रति बढी जानकार हुने हुँदा योग्यता र क्षमता बढी हुन्छ । यसैले राजनैतिक दलहरुले पनि युवा पुस्तालाई स्थानीय निर्वाचनमा प्राथमिकताका साथ हेरिनु पर्दछ ।

प्रतिक्रिया